close

बगर खेतीमा रमाउँदै धनगढीका किसान

बगर खेतीमा रमाउँदै धनगढीका किसान

Trulli
ADVERTISEMENT

कैलाली। धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त छिन्। हिउँदे मौसममा उनको समय बगरमै बित्छ । ‘बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ’, उनले भने, ‘यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौँ ।’ उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएका छन्।

हिउँदमा नदीको क्षेत्रफल साँघुरिने हुँदा बचेको बगरमा नै किसान तरकारी एवं विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

धनगढी उपमहागनरपालिका–१० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगर खेती गर्दै आइरहेका छन्। उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानी, तरबुजालगायतका तरकारी उत्पादन गर्दै आएका छन्। ‘बगरमा हुने सबैखाले तरकारी लगाएका छौँ, कमखर्चमा राम्रो उत्पादन हुन्छ’, उनले भने। कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानले सदुपयोग गरिरहेका हुन्।

धनगढीकै जुगेडाकै माया रानाले पनि सात वर्षदेखि बगर खेती गर्दै आएकी छिन् । ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौँ वर्षैँदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छौँ’, उनले भने, ‘आम्दानी राम्रै भइरहेको छ ।’ नेपाल–भारत सिमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरिदिन्छ ।

नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमिन कटान गर्दै जाँदा नम्बरी जमिन पनि नदी पारीसम्म पुग्छ । बगर बनेको जमिन बाह्रै महिना प्रयोग गर्न नपाए पनि किसान यो समयमा भने बगरलाई तरकारी बाली लगाएर हरियाली बनाउँछन् । जसले उनीहरूलाई केही राहत दिन्छ । किसान बगरखेतीबाट मासिक रु ३० देखि ५० हजारसम्म कमाउने गरेको बताउँछन् ।

किसानले बगरमा फलाएको तरकारी धनगढीको हाट बजारलगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ । बजारको कुनै समस्या नरहेको किसानको भनाइ छ । बगरमा विगतमा आफ्नो जमिन भएका मात्रै नभई अन्य किसानले पनि भाडामा लिएर पनि तरकारी उत्पादन गरिरहेका छन् । जुगेडाकै अनारकली रानाले पनि जमिन भाडामा लिएर १० वर्षदेखि तरकारी फलाउँदै आएकी छिन्।

छोटो समयमै हुने उत्पादनमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा पछिल्लो समय बगर खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ । ‘जग्गावालालाई केही रकम र उत्पादन भएको तरकारी दिन्छौँ’, उनले भने। ‘उनीहरूले हामीलाई सहजै आफ्नो जमिन दिन्छन् ।’ बगरमा तरकारी लगाउन र हेर्नलाई समस्या हुनेहुँदा सबैले यो खेती गर्दैनन् । तर केहीले बगरमै साना टहरा बनाएर  यसमा काम गरिरहेका छन् ।

विगतमा सीमा क्षेत्रका नदी किनारका बगरखेतीमा विशेष गरेर भारतीय किसानले तरकारी खेती गर्दै आएका थिए । अहिले नेपाली पनि बगर खेतीमा आकर्षित हुँदै जाँदा भारतीय विस्थापित हुन थालेका छन् ।