close

भिरकोटमा माटो परीक्षण ल्याब

भिरकोटमा माटो परीक्षण ल्याब

Trulli
ADVERTISEMENT

स्याङ्जा ।  भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

माटोमा हुने तत्वबारे न्यूनतम जानकारी पाउन र माटो परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकामा किसानलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको उनले बताए । 'अत्याधुनिक उपकरण जडान गरी स्थापना गरिएको प्रयोगशालाबाट माटोको अवस्थाबारे किसानलाई जानकारी दिने गर्छौं' नगरप्रमुख कर्माचार्यले भने, 'आफूले बाली लगाएको माटोको अवस्थाबारे किसानले जानकारी पाउने र माटोमा भएका कमी कमजोरीको उपचार गर्न सकिने भएकाले यो प्रयोगशाला निक्कै उपयोगी हुने विश्वास हाम्रो छ ।'

नगरभित्रका नौवटा वडाको तालिका बनाएर प्रयोगशालाबाट माटो परीक्षण गर्ने तयारीमा नगरपालिका छ । डिजिटल माध्यमको अत्याधुनिक उपकरणबाट माटोमा भएको ‘पिएच’को मात्रा तत्कालै र अन्य अन्य तत्वको मात्रा १–२ दिनभित्रै किसानलाई उपलब्ध गराइने कृषि शाखा प्रमुख किसान अर्यालले बताए ।

'माटोसम्बन्धी विभिन्न १२ वटा प्यारामिटरको परीक्षण प्रयोगशालामा हुन्छ' उनले भने, 'माटोमा भएको कमी कमजोरीकाबारेमा जानकारीसहित उपचार विधिबारे पनि सुझाव तथा परामर्श दिने गरिएको छ ।'

भिरकोटमा माटो परीक्षण प्रयोगशाला नहुँदा यहाँका किसानले  माटोको नमुना लिएर पोखरा जानुपर्ने बाध्यता थियो । त्यसमा पनि परीक्षण गर्न समय लाग्ने गरेकाले तत्कालै नतिजा नआउने र ढिलो हुँदा किसान बालीनाली लगाउने समय घर्किसक्ने हैरानीमा थिए ।