close

खेतबारीमा गोठेमलको प्रयोग बढ्दै

खेतबारीमा गोठेमलको प्रयोग बढ्दै

Trulli
ADVERTISEMENT

म्याग्दी ।  म्याग्दीमा मकै गोड्ने, मल बोक्ने र धानको बीउ राख्ने समय छ । कृषकहरु खेतबारीमा मल बोक्ने, मकै गोड्ने र धानको बीउ राख्ने काममा व्यस्त छन् ।

खेतबारीका गह्रा जता हे¥यो, त्यतै गोठे मलले भरिभराउ छन् । कुनै ठाउँमा मकै लगाउने काम सकिएको छ भने कुनै ठाउँमा मकै छर्ने तयारी हुँदैछ । किसान मलबोक्नमा व्यस्त छन् । प्राङ्गारिक मलको महत्व बुझ्न थालेपछि किसान अहिले गोठे मलको प्रयोग गर्न थालेका छन् । यसले उत्पादन पनि बढाएको छ भने माटो पनि सुधारेको छ । 

गत वर्षदेखि किसानले खेतबारीमा रासायनिक मलको प्रयोग कम गर्दै गएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बजारबाट ल्याइने रासायिकन मलको सट्टा गोठेमलको प्रयोग बढ्दै जाँदा माटोको अम्लियपना पनि कम हुँदै गएको उनले बताए।

म्याग्दीका सबै गाउँका बासिन्दा खेतीपाती गर्छन् । गाउँका सबैका घरमा भैँसी, गाई, बाख्रा छन् । गाई बस्तुबाट उत्पादन हुने गोठे मल सङ्कलन गरेर किसानले गोठे मलकै प्रयोग गर्ने गर्दछन् ।  बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले तरकारी खेती गर्न थालेको पाँच वर्ष भयो । उनी सुरु सुरुमा एउटै जमिनमा छोटो समयमै पटक–पटक उत्पादन लिन रासायनिक मल प्रयोग गरे । 

गोठे मल अर्थात् प्राङ्गारिक मलको महत्व बुझन थालेपछि कृषक पौडेलले गोठे मल नै खेतमा प्रयोग गर्छन् । यसले आम्दानी पनि बढाएको र माटो पनि मलिलो भएको उनले बताए । म्याग्दीका किसान गोठे मल खेतमा लगाएर जैविक तरकारी तथा खाद्यान्न उत्पादनतर्फ लागेका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए। प्राङगारिकभन्दा रासायनिक मलले दिने नतिजा बढी भए पनि अहिले किसान गोठे मलतर्फ आकर्षित भएको कृषि प्राविधिकको भनाइ छ ।

खेतबारीमा धेरै रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आउने, अम्लीयपना ज्यादा हुने जस्ता समस्या देखापर्ने कृषि विज्ञ बताउँछन् । बिस्तारै खेतबारीमा प्राङ्गारिक मलको प्रयोगले माटोको उर्बराशक्ति पनि बढ्दै गएको र बालीलाई फाइदा गरेको कृषि प्राविधिक निता शर्माले बताइन् । नेपालमा रासायनिक मलको प्रयोगले उर्बराशक्ति घटेको नदेखाए पनि ठाउँ–ठाउँमा माटोको गुणस्तर तथा माटोमा चाहिने पौष्टिक तत्वको कमी भएको देखाएको माटो विज्ञान अनुसन्धान केन्द्रको तथ्याङ्क छ ।