close

मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा

मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

लमजुङ। लमजुङ मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माणधीन मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको हो । केन्द्रको निर्माण कार्यको ९० प्रतिशत काम सम्पन्न भएको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ ।

यस समितिका अनुसार जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्न सो केन्द्र स्थापना गर्न लागिएको हो । मह प्रशोधनका लागि एक तले आर्सिंसी भवनमा ठूलाठूला दुई कोठा निर्माण गरिएको समितिका संयोजक केशबहादुर गुरुङले बताए। 

हाल ‘फिनिसिङ’को काम र झ्यालढोका राख्ने काम भइरहेको छ । साथै रङरोगन कार्य गर्न बाँकी छ । गुरुङका अनुसार विसं २०७९ वैशाखमा सम्झौता भई निर्माण सुरु गरिएको थियो । एक तले आर्सिंसी भवन निर्माण गरिएको उनले बताए। प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना नेपालको आर्थिक वर्ष २०७८/७९ को रु १५ लाख र २०७९/८० को रु १४ लाख गरी २८ लाखमा भवन निर्माण भइरहेको बताइएको छ । 

समितिका संयोजक गुरुङका अनुसार मह प्रशोधनका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आर्सिडिसी)ले रु चार लाख बराबरको मह प्रशोधन मेसिनसमेत सहयोग गरेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको यस भवनको यही जेठ १५ गतेभित्रमा सम्पन्न गर्ने गरी कामलाई तीव्र बनाइएको छ । परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा बर्सेनि करिब ५० टन बढी मह उत्पादन हुँदै आएको छ । 

उनले भने, ‘जिल्ला तथा जिल्ला बाहिर महको माग उच्च रहेकाले जिल्लाका किसान मौरीपालन तर्फ आर्कषित हुन थालेका छन्, जिल्लामा प्रति किलो रु एक हजार एक सयमा मह बिक्री हुँदै आएको छ ।’

जिल्लाका किसानले उत्पादन गरेको महलाई घरमा प्रशोधन गर्दा त्यति शुद्ध नहुने भएको तथा धेरै समय लाग्ने भएकाले छिटोछरितो रुपमा मह प्रशोधनका लागि उक्त केन्द्र स्थापना गर्ने तयारी भएको बताइएको छ । यस केन्द्रमा एक पटकमा एक सय  लिटर मह प्रशोधन हुने बताइएको छ ।