close

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित

Trulli
ADVERTISEMENT

पर्वत। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन् । 

विगतका वर्षमा जिल्लाका अधिकांश वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ हुन्थ्यो तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन् । लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको कुश्मा नगरपालिका–१२ का कृषक रामप्रसाद सापकोटाले बताए। 

‘गत वर्ष कोदो रोपिसकेर धान रोपाइँ सुरु गरेका थियौँ’ उनले भने, ‘यस वर्ष कुनै पनि रोप्न पाइएको छैन, कोदोको बीउ सुकिसकेको छ भने धानको बीउसमेत राख्न पाइएको छैन ।’ धानको पानी बीउ राख्ने प्रचलन भए पनि जेठ अन्तिम सातासम्म वर्षा नभएपछि कतिपयले धुले बीउ राख्नथालेका छन् । 
    
सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको फलेवास–५ का हरि पौडेलले बताए। यस वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो । पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उनले बताए। 
    
पर्वतका अधिकांश वडामा वर्षाको भरमा खेतीबाली लगाउँदै आएका छन् । झण्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानालानै सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीको रुपमा उत्पादन हुने गरेको छ । जिल्लाभर नौ हजार ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झण्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ । 
    
कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् । वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताए। रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुनेसमेत उनको भनाइ रहेको छ । जिल्लाका सात पालिकाका ६१ वडाकै कृषक यतिबेला मनसुनको पर्खाइमा रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।