close

किसानको उत्पादन सङ्कलन केन्द्रमा

किसानको उत्पादन सङ्कलन केन्द्रमा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो । 

तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्धसमेत मिलाइएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए। तरकारी सङ्कलन केन्द्र सञ्चालनको जिम्मेवारी कृष्णबहादुर श्रेष्ठलाई दिइएको छ । सङ्कलन केन्द्रमा किसानद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला, सिमीलगायत तरकारी राखिएको छ । सङ्कलन केन्द्रमा दुई सय किलो गोलभेँडा राखिएको छ । 

किसानले तरकारीको मूल्य भने बजार मूल्यअनुसार नै पाउनेछन् ।  यसका लागि बिक्रेता किसानको कुनै पनि बैङ्कमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्ने छ । किसानबाट खरिद गरेको तरकारीलगायत उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले जम्मा गर्ने नगरप्रमुख सापकोटाले बताए।

किसानको उत्पादन नगरपालिकामार्फत श्रेष्ठले खरिद गर्नेछन्। ‘किसानले कुनै पनि उत्पादन बिक्री भएन भनेर फाल्नुपर्ने अवस्था आउने छैन’, उनले भने। किसानका सबै उत्पादन खरिद गरी स्थानीय बजारमा खपत नभए राजधानी काठमाडौँसम्म लैजाने प्रबन्ध मिलाइएको सापकोटाले बताए। नगरपालिकाले चाँडै कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेको छ ।