close

किसानलाई हाते ट्रयाक्टर वितरण

किसानलाई हाते ट्रयाक्टर वितरण

Trulli
ADVERTISEMENT

भोजपुर । पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो । 

गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । 

'किसानहरुले गर्दै आउनुभएको काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले निरन्तर काम गरिरहेको छ', उनले भने । 

उनका अनुसार वडा नं १ श्यामशिलाका १३ किसानलाई आज हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लगानीमा कृषि सामग्री वितरण गरिएको हो । वडाका किसानलाई सहयोग गरिएको सामग्रीले खेती गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र तामाङले बताए । 

वडा नं ६ ठूलोदुम्माका किसानलाई पनि कृषि सामग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई ३१ वटा इलेक्ट्रिक स्प्रे, मल्चिङ प्लास्टिक ४७ थान, १४ थान प्लास्टिक पोखरी, १५ वटा प्लास्टिक टनेल लगायतकासामग्री वितरण गरिएको हो । 

'किसानलाई कृषि सामग्री वितरण गरेका छौँ', वडाध्यक्ष दक्षकुमार राईले भने, 'गाउँपालिकाको नीतिअनुसार कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्य छ ।' 

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको विकासमा विशेष योजनासहित गाउँपालिकाले काम गर्दै आइरहेको जनाएको छ । महिलालाई समेत कृषि उद्यममा जोड्ने लक्ष्यसहित गाउँपालिकाभित्र रहेका छवटै वडामा एक लाख बराबरको थप कार्यक्रमसमेत सञ्चालन भइरहेको बताइएको छ ।