close

पोखरामा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन

पोखरामा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।  

वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको  जनाइएको छ ।   कृषि उपजको आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भर बनाउनका लागि उत्पादन वृद्धि आवश्यक रहेको प्रमुख आचार्यले बताए ।  महानगरका ग्रामीण क्षेत्रहरू उत्पादनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएकाले स्वस्थ उत्पादनमा उनले जोड दिए।  महानगरपालिका कृषकहरूको साथमा रहेको उनले विश्वास समेत दिलाए ।  

पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस क्षेत्रमा भइरहेको उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कृषकहरूलाई उत्पादनसँग जोडिन उनले आह्वान समेत गरे।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषि उपजको बजार सुनिश्चितता सहित उपभोक्ताहरूलाई स्वस्थ तरकारी खुवाउने आफूहरूको लक्ष्य रहेको बताए ।  सङ्कलन केन्द्रहरूको प्रभावकारिता ती केन्द्रहरू मार्फत बजारमा पुग्ने स्वस्थ उत्पादनसँग जोडिने उनले बताए ।  उनका अनुसार केन्द्रमा सङ्कलन भएको कृषि उपज महानगरद्वारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत बजार पुर्‍याउने व्यवस्था मिलाइनेछ । सो क्रममा कृषि औजार समेत प्रदान गरिएको छ ।

हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन् भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालनमा रहेका छन् ।