धनकुटा– गोलभेँडाको मूल्य बढ्न थालेपछि धनकुटाका किसान उत्साहित भएका छन् । पछिल्लो केही दिनयता मूल्य वृद्धि भएसँगै कृषकले अहिलेसम्म कै उच्च मूल्यमा गोलभेडाको बिक्री गर्न पाएका छन् ।
मंगलबार बारीमा एक सय रुपैयाँ प्रतिकिलोको दरले गोलभेडा बिक्री गरेको धनकुटाका किसानले जनाएका छन् । केही समयअघि ५ देखि ७ रुपैयाँमा बिक्री गरेकोमा अहिले प्रतिकिलो एक सय रुपैयाँमा गाेलभेँडाकाे काराेबार भइरहेकाे धनकुटाका कृषक मातृका राईले बताए ।
जिल्लाको धनकुटा बजारमा एक सय २० देखि एक सय ५० रुपैयाँसम्ममा गोलभेडा बिक्री भइरहेको व्यवसायी सुशिल शाहले बताए । यो मूल्य धनकुटामा अहिलेसम्मकै उच्च मूल्य रहेको उनले बताए ।
धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिका लगायतका क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले जानकारी दिए ।