close

बाँझो जमिनको सदुपयोगको लागि  ‘भूमि बैंक’

बाँझो जमिनको सदुपयोगको लागि  ‘भूमि बैंक’

Trulli
ADVERTISEMENT

मकवानपुर– भीमफेदी गाउँपालिकाले पालिकाको बाँझो जमिनको सदुपयोगको लागि ‘भूमि बैंक’ को स्थापना गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा ‘भूमि बैंक’ को स्थापना गर्ने योजना राखेको छ । 

जमिनलाई बाँझो छाडेर पालिका बाहिर धेरै मानिसहरु बसोबास गर्ने भएकाले जग्गाको उपयोग गर्न  ‘भूमि बैंक’ स्थापना गर्ने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

‘पालिकाभित्रका खेतीयोग्य जमिन मानिसहरुले छाडेका बाहिर गएर बसेका हुन्छन्  । त्यो जमिनको उपयोग गरेर भूमि नभएका तथा कम जग्गा भएका मानिसहरुले कृषि सामाग्री उत्पादन गर्न सक्छन्,’ उनले भने, ‘तर जग्गाधनी जो पायो त्यसलाई जग्गा प्रयोग गर्न दिन चाहँदैनन्’। त्यसैले गाउँपालिकाले कार्यविधि बनाएर पालिकाबाहिर बसेका मानिसहरुको भूमी सङ्कलन गरेर बैंक बनाउने उपाय गाउँपालिकाले सुल्झाएको उनले पालिकाखबरलाई बताए । 

भूमि बैंकमा संकलन भएका जग्गालाई 'लिज'मा दिन जग्गा धनी र लिजमा लिन चाहने दुई पक्षबीच समन्वय गराउने काम गाउँपालिकाले गर्ने उनले बताए । उनले भने, ‘दुईपक्षबीच कति पैसामा जग्गा लिजमा दिने दिने भन्ने सहमति हुन्छ । त्यसको साक्षी गाउँपालिका रहन्छ । गाउँपालिकाले जग्गालाई बाँझो नराख्न यस्तो रणनीति ल्याइएको हो ।’ 

मोही लाग्ने, कब्जा गर्ने डरले जग्गा धनीले जग्गा हत्तपत्त लिजमा नदिने भएकाले ‘भूमि बैंक’को अवधारणा ल्याएको उनले जानकारी दिए । ‘गाउँपालिकाले त्यस्तो घटना हुन दिँदैन भनेर साक्षी बसेर जग्गा लिजमा दिने वातावरण बनाउँछ’, उनले भने । 

यसको लागि कार्यविधि बनाउने काममा गाउँपालिका लागि सकेको उनले जानकारी दिए । उनले भने, ‘हामी ‘भूमि बैंक’ सम्बन्धी कार्यविधि छिट्टै नै ल्याउँदै छौँ ।’