close

विरुवा हुर्काउनेलाई ५ किलाे चामल उपहार

विरुवा हुर्काउनेलाई ५ किलाे चामल उपहार

Trulli
ADVERTISEMENT

बाजुरा– हिमाली गाउँपालिकाले प्रतिव्यक्ति ४ रुख अनिवार्य रोप्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । 

 चार वर्ष अघि सुरु भएको सो कार्यक्रमबाट ५० हजार विरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । उनले भने, ‘हाम्रो पालिकामा अन्य बाली उत्पादन भएपनि चामल उत्पादन हुँदैन । त्यसैले एउटा रुख जोगाएर हुर्काए बापत वार्षिक प्रतिव्यक्ति पाँच केजी चामल दिन्छौँ ।’ उनकाे अनुसार चारवटै विरुवा हुर्काएमा एक जनाले वार्षिक २० केजी चामल गाउँपालिकाले उपलब्ध गराइन्छ ।

अहिलेसम्ममा पालिकाभरि सो कार्यक्रमबाट ४१ हजार विरुवा हुर्किएको उनले जानकारी दिए । स्याउ, ओखराजस्ता फलफूलको विरुवा गाउँपालिकाले उपलब्ध गराएर रोपिएको हो । दोस्रो कार्यकालमा अध्यक्षको कार्यकाल सम्हालिरहेका मल्लले कार्यकालको अन्त्यसम्ममा गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजनाअनुसार यस्ताे कार्यक्रम सञ्चालन गरेकाे जनाएका छन् । 

‘ओखर फल्ने समय अलि भएको छैन । स्याउ अलिअलि फल्न थालेको छ । उत्पादन भएको फललाई गाउँपालिकाले नै संकलन गरेर बिक्री गर्छ,’ उनले भने । उनको अनुसार प्रत्येक वडामा संकलन केन्द्र स्थापना गरिएको छ । सोही केन्द्रमा स्थानीयको उत्पादन संकलन गरेर बिक्री गरिने छ । 

खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि रैथाने बाली उत्पादनमा गाउँपालिकाले जोड दिने उनले जानकारी दिए । रैथाने बालीको संरक्षणको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग गाउँपालिकाले छलफल गरेको उनले पालिकाखबरलाई जानकारी दिए । 

स्थानीयले रैथाने बाली उत्पादन गर्न छाडेकोले यसको संरक्षणमा जोड दिएको उनले बताए । उनले भने, ‘हाम्रो पालिका बाजुराको पनि सबैभन्दा विकट क्षेत्र हो । यहाँ भुगोल धेरै र जनसंख्या थोरै छ । मैले कुन कुन वडालाई कृषिमा आत्मनिर्भर बनाउन सम्भव छ भनेर अनुगमन गरेको थिएँ । ७ ओटा वडामध्ये ५ वडालाई कृषिमा आत्मनिर्भर बनाउन सकिने सम्भावना देखेको छु ।’

भेडा, च्याङ्ग्रा पालनमा समेत गाउँपालिकाले अनुदानको व्यवस्था गरेको उनले बताए । पालिकावासीको साथ र सहयोगले आफ्नो योजना सफल हुने कि नुहुने निर्धारण हुने उनको भनाइ छ । 

यस्तै अध्यक्ष मल्लले गाउँपालिकाको शिक्षा, खानेपानी, स्वास्थ्य, पर्यटनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । ‘३ जना शिक्षकले कक्षा १० सम्म अध्ययन गराइरहेको अवस्था थियो । २०७४ मा पालिकाकाे अध्यक्षमा निर्वाचित भएयता अहिले शिक्षक दरबन्दी नियुक्त गरेर प्रत्येक विद्यालयमा शिक्षकको व्यवस्थापन गरेका छौँ ।’ गाउँपालिकाले खानेपानी र स्वास्थ्य चौकीको व्यवस्थापनमा पनि काम गरेको उनले जानकारी दिए । हाल अहिले हिमाली गाउँपालिकामा १२ वटा स्वास्थ्य चौकी छन् । 

गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ । स्थानियलाई कर्णाली नदीमा र्याफ्टिङ गर्नको लागि तालिम लिएको छ । रारा ताल गाउँपालिका केन्द्रबाट दुई घण्टाको यात्रामा पुग्न सक्ने उनले जानकारी दिए । ‘रारा घुम्न आउने पर्यटकलाई गाउँपालिका केन्द्रमा बस्ने वातावरण मिलाउँछौ ।’ 

हिमाली गाउँपालिका जडिबुटी प्रचुरमात्रामा पाइने गाउँपालिका रहेको अध्यक्ष मल्लले जानकारी दिए । स्थानीयलाई जडिबुटी संकलनदेखि प्रशोधन गर्ने तालिम प्रदान गरेको उनले बताए । यसको लागि जडिबुटी संकलन केन्द्र बनाएको उनले बताए । मुलुकभर १२० वटा औद्योगिक ग्राम रहेकोमध्ये हिमाली गाउँपालिकामा पनि रहेको उनले जानकारी दिए ।