close

मौलापुरमा कृषि र पशु अस्पताल : सेवा पाएसँगै स्थानीय दंग

मौलापुरमा कृषि र पशु अस्पताल : सेवा पाएसँगै स्थानीय दंग

Trulli
ADVERTISEMENT

रौतहट - मौलापुर नगरपालिकाद्वारा सञ्चालित कृषि तथा पशु अस्पताल सेवा सञ्चालन भएसँगै स्थानीय जनतालाई सहज भएको छ । नगरपालिकाभित्र नै अस्पताल सञ्चालन आएपछि कृषि र पशुसम्बन्धि परामर्श तथा सेवा लिन स्थानीय बासिन्दालाई सहज भएको हो । 

नगरपालिकाका पशु संयोजक जितेन्द्र साहका अनुसार अस्पतालमार्फत पशुको कृत्रिम गर्भाधान, उपचार, बालीको उपचार तथा परामर्श गर्दै आएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० बाट अस्पताल सञ्चालनमा ल्याएको हो । 

अस्पताल सञ्चालन गर्नुअघि स्थानीय बासिन्दाले कटहरीया बजारमा उपचारको लागि जानुपर्ने उनले पालिकाखबरलाई बताए । अस्पताल सञ्चालनमा आएसँगै नजिकबाट सेवा लिन पाएकोमा स्थानीयसमेत खुसी भएको उनको अनुभव छ । 

अस्पतालका लागि नगरपालिकाले ३ जना पशु सेवा र एक जना कृषि सेवा गरी ४ जना कर्मचारीको व्यवस्थापन गरिएको उनले सुनाए । अस्पतालमार्फत सेवाग्राहीलाई निःशुल्क सेवा दिँदै आएको छ । 

चालू आर्थिक वर्षबाट अस्पतालमा तरकारी तथा च्याउ खेती तालिम सञ्चालन गर्नको लागि बजेट विनियोजन गरेको कृषि शाखाकी अधिकृत रिंकु ज्यास्वले बताइन् । उनका अनुसार अस्पतालबाट सेवा सञ्चालन गर्नका लागि आवश्यक बजेट तथा सामग्री नगरपालिकाले उपलब्ध गराउँदै आइरहेको छ । 

अस्पतालबाट सेवा सञ्चालन हुन थालेपछि स्थानीयले समेत खुसी भएको अस्पतालका कर्मचारी होश नारायण साहले बताए । तर  आवश्यक सामग्री समयमा नआउँदा सेवा सञ्चालनमा समस्या हुने उनको गुनासो छ । औषधि तथा कृषिजन्य सामग्री माग गरेपनि नगरपालिकाले आपूर्तिमा ढिला गर्ने गरेकोले आफूहरु समस्यामा पर्ने उनले बताए ।