close

थाहा नगरपालिकाको प्राथमिकतामा दूध र फलफूलको उत्पादन

थाहा नगरपालिकाको प्राथमिकतामा दूध र फलफूलको उत्पादन

Trulli
ADVERTISEMENT

मकवानपुर– थाहा नगरपालिकाले आगामी ५ वर्षभित्र मासु, दूध र फलफूलमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । यसको लागि नगरपालिकाले मासु, दूध र फलफूलको उत्पादनमा जोड दिएको छ । 

फलफूल उत्पादनको लागि नगरपालिकाको कृषि कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको नगरपालिकाका प्रमुख बिष्णु बहादुर विष्टले जानकारी दिए । मासु उत्पादनमा आत्मनिर्भर बनाउन बाख्रा, कुखुरामा ५० प्रतिशत अनुदान दिइएको छ । 

‘गतवर्ष गाई र भैँसी किन्दा बैंकबाट सहुलियतामा ५० प्रतिशत ऋण उपलब्ध गराएका थियौँ । बाँकी २५ प्रतिशत किसानले र २५ प्रतिशत नगरपालिकाले बेहोरेको थियो,’ उनले भने । तर, यस वर्ष लम्पिस्किन रोगको महामारीको कारणले गाई खदिरमा अनुदानको कार्यक्रम हटाइएको नगरप्रमुख विष्टले पालिकाखबरलाई बताए ।

‘यस वर्ष भैँसी, बाख्रामा मात्र अनुदान राखिएको छ । लम्पि स्किनको महामारीमा नियन्त्रण भएपछि अर्को वर्ष गाईको लागि पनि अनुदान राख्छौँ,’ उनले भने । उनकाे अनुसार पालिकाले दूध बिक्रीमा पनि किसानलाई अनुदान उपलब्ध गराइरहेको छ । किसानलाई पालिकाले गाईको दूधमा प्रतिलिटर एक रुपैयाँ पचहत्तर पैसा र भैंसीको दुधमा २ रुपैयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराएको हो । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल, हाते ट्याक्टरजस्ता उपकरण, सिँचाईको लागि पाइप, पानी तान्ने मोटर वितरण गरेको छ । ‘कृषि क्षेत्रका कार्यक्रम सञ्चालन गर्न कृषि शाखाले योजना बनाएर ल्याउनुहुन्छ । हामी कार्यपालिको बैठकबाट निर्णय गरेर शाखालाई एकमुष्ठ रकम उपलब्ध गराउँछौँ,’ उनले भने ।