close

परम्परागत प्रणाली हटाउन पकेट कार्यक्रमदेखि हाटबजारसम्मकाे याेजना

परम्परागत प्रणाली हटाउन पकेट कार्यक्रमदेखि हाटबजारसम्मकाे याेजना

Trulli
ADVERTISEMENT

मोरङ– बेलबारी नगरपालिकाले परम्परागत कृषि प्रणालीलाई हटाउँदै आधुनिक कृषि प्रणालीमा खेती गर्ने नीति लिएको छ । यसका लागि नगरपालिकाले कृषिलाई आधुनिकीकरणतर्फ लैजान विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले व्यवसायिक कृषकलाई नयाँ/नयाँ आधुनिक यान्त्रिकरणको बारेमा जानकारी दिन तालिम प्रदान गरिरहेको नगरपालिकाका कृषि विकास अधिकृत सन्तोष कँडेल बताउँछन् । उनका अनुसार जैविक विषादीको प्रयोग सम्बन्धी तालिम, आधुनिक तरिकाले तरकारी खेती सम्बन्धी तालिम, नयाँ प्रविधिको प्रयोग सम्बन्धी तालिम तथा धान प्रवर्धनका विषयमा जानकारी दिने गरिन्छ । 

हरेक आर्थिक वर्षमा नगरपालिकाले तालिम प्रदान गर्ने भएकाले पहिले तालिम पाइसकेका कृषक नदोहोरिन विशेष ध्यान दिइने उनी बताउँछन् । उनी भन्छन्, ‘तालिम दिएका व्यवसायीको रेकर्ड नगरपालिकाले राखेको हुन्छ । साे नदोहोरिने गरी पालिकाका जुन क्षेत्रमा धेरै व्यवसायिक छन्, त्यहीँ तालिम दिन्छौँ ।’

कृषकहरुलाई प्रोत्साहन गर्दै कृषिमा आधुनिकीकरण ल्याउन कृषकलाई नगरपालिकाले प्लाष्टिक मल्टिङ, स्प्रे, पावर टिलर मिनी टिलर आदी आधुनिक औजार प्रदान गर्छ । ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा कृषि औजार प्रदान गरिने उनले बताए । आधुनिक खेती प्रणालीका विषयमा तालिम प्रदान गरिएका कृषकलाई आधुनिक उपकरण अनिवार्य उपलब्ध गराउने उनको भनाइ छ ।

उनले भने, ‘तालिम दिइएको भन्दा धेरै व्यक्तिलाई उपकरण उपलब्ध गराउन पुग्ने बजेट छुट्याएका हुन्छौँ । उहाँहरुलाई उपकरण प्रदान गरिसकेपछि औजार सञ्चालनको तालिम प्रदान गछौँ ।' गत वर्षपनि कृषकहरुलाई औजार सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको उनले जानकारी दिए । 

आधुनिक खेति प्रणालीमा रासायनिक विषादीको प्रयोग हटाइ जैविक विषादीको प्रयोग बढाउनका लागि पालिकाले जाेड दिँदै आएकाे छ। प्राङ्गारिक मल वितरणको लागि नगरपालिकाले गत वर्ष ड्रम वितरण गरेको कृषि विकास अधिकृत कँडेलले बताउँछन् । प्राङ्गारिक मलको विकासको लागि चालु आर्थिक वर्षमा ५० हजार विनियोजन गरेको छ । यसबाहेक चालु आर्थिक वर्षमा कोशी प्रदेशको ‘कृषक पाठशाला’ कार्यक्रमअन्तर्गत कृषकलाई जैविक मलको प्रयोगको विषयमा तालिम प्रदान गर्ने उनले बताए । 

'बेलबारी नगरपालिकामा उत्पादन हुने मुख्य बाली धान हो । पालिकाका सबै क्षेत्रमा धान उत्पादन हुन्छ । पालिकाका विशेषगरि वडा नं ८, ९ र १० मा मकै राम्रो उत्पादन हुन्छ,' उनले भने, 'यस आवमा नगरपालिकाले यी तीन वडामा मकै पकेट क्षेत्र सञ्चालन गर्ने भएको छ । यसबाहेक तरकारी राम्रो उत्पादन हुने भएकाले तरकारी खेती प्रवर्द्धनको लागि कार्यक्रमहरु सञ्चालन गर्दै छ ।' यस्तै नगदे बालीमा उखु उत्पादन हुने गरेको कृषि विकास अधिकृत कँडेलले पालिकाखबरलाई बताए । 

विगत चार वर्षदेखि नगरपालिकाले परम्परागत कृषि प्रणाली हटाउँदै पालिकामा आधुनिक कृषि प्रणालीको स्थापना गर्ने उदेश्यका साथ कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तर, किसानहरु परम्परागत तरिकाबाट खेती गर्न अभ्यस्त भइसकेकाले नयाँ तरिकाबाट खेती गर्न नमान्नु आधुनिक तवरले खेतीको सुरुवातको लागि मुख्य चुनौती बनेको उनी बताउँछन् । आधुनिक कृषि सुरु गर्न लागत पनि अलि बढी लाग्ने भएकाले कृषकहरु तयार नहुने उनी बताउँछन् । 

आधुनिकरण गर्नको लागि ठुलो क्षेत्रफल चाहियो । ठूलो चक्लाबन्दी गर्न पनि समस्या रहेको उनले बताए । उनी भन्छन्, ‘हाम्रा किसानहरूसँग टुक्रा गरिएको थोरै थोरै जमिन हुन्छ । सबै जमिनलाई एकैचोटी समेट्न गाह्रो हुन्छ ।’ 

एक्कासी बढी उत्पादन भएमा बजारमा एकैचोटी सामान जाँदा मुल्यमा गिरावट आउने डर हुने उनको भनाई छ । अझ संघ सरकारले योजना अनुसारको बजेट नपठाउँदा कहिलेकाँही कृषि औजार वितरण गर्न नै समस्या हुने गरेको उनले बताए । यी सबै समस्याको समाधान कसरि गर्न सकिन्छ भने समाधान तर्फ नगरपालिका लागेको उनले बताए । 

बजार व्यवस्थापनको लागि वडामा प्रदेश सरकारबाट बजेट विनियोजन भएर काम भएको उनले बताए । उनले बताए, ‘गत वर्ष वडामा हाटबजार निर्माणको लागि १० लाख रुपैयाँ प्रदेशको बजेट परेको थियो । यस वर्षपनि वडाको लागि १० लाख परेको छ । प्रदेशको कार्यविधिअनुसार स्थानीयसँग समन्वय गरेर वडाले हाटबजार सञ्चालन गर्छ ।’

११ वटा वडा रहेको बेलबारीमा वडा नं ४ बाहेक १० वटा वडामा हाटबजार सञ्चालनमा रहेका छन् । वडा नं ५, ७, ९, ११ मा हप्ताको दुईपटक र अन्य वडामा हप्ताको एक पटक हाटबजार सञ्चालन हुन्छ  । पालिकामा संघ सरकारको बजेटमा कोल्ड स्टोर निर्माणधिन अवस्थामा रहेको उनले बताए । 

पछिल्लो समयको भू-वर्गीकरणको तथ्यांकअनुसार नगरपालिकाको कुल १३ हजार २८० हेक्टर जमिनमध्ये कृषि योग्य जमिनको क्षेत्रफल ४ हजार ५८४ हेक्टर छ । यसमध्ये आधुनिक तरिकाबाट खेती भइरहेको क्षेत्रफल र उत्पादकत्वमा भएको वृद्धिकाे जानकारी लिन पालिकाले यस वर्ष तथ्यांक संकलनकाे काम सुरु गर्ने उनले बताए । ‘तर आधुनिक कृषि प्रणालीकाे प्रयाेग गरेपछि कृषि उत्पादनका लागि लाग्ने लागत घटेको छ भने उत्पादन बढेको छ,’ कृषि उत्पादनमा वृद्धि भएको कुरा प्रत्यक्ष महसुस भएको उनले बताए ।