close

ताजा तरकारी खोज्ने कृषि एम्बुलेन्स : किसानको आम्दानी बढ्ने अपेक्षा

ताजा तरकारी खोज्ने कृषि एम्बुलेन्स : किसानको आम्दानी बढ्ने अपेक्षा

Trulli
ADVERTISEMENT

प्युठान– कृषकको आम्दानी बढाउन माण्डवी गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषि उपज सामाग्रीको बजारसम्म सहजै पुर्‍याउन एम्बुलेन्स सञ्चालन गर्न नीतिगत व्यवस्था गरी काम थालेको हो । 

गाउँपालिकाको विकट क्षेत्रका ताजा उत्पादन खेर गइरहेका ताजा कृषि उपज सामाग्री समयमै बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कृषि एम्बुलेन्सले पालिकाका वडा वडामा पुगेर उत्पादन भएका सामाग्री कृषकसँग खरिद गरेर बजारसम्म पुर्याइरहेको छ । 

गत असारदेखि गाउँपालिकाभित्र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिकाकी कृषि विकास अधिकृत बिदुशा आचार्यले बताइन् । कृषि एम्बुलेन्स सञ्चालनको लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन कार्यविधि २०८० तयार गरेको छ । सोही कार्यविधिअनुसार कृषि एम्बुलेन्स सञ्चालन गरेको उनले बताइन् । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि साना कृषकहरूको सार्वजनिक सवारी प्रयोग गरेर कृषि उपजलाई बजारसम्म पुर्‍याउनुपर्ने समस्या समाधान भएको छ । 

कार्यविधिअनुसार पालिकाकै कृषि फर्मलाई कृषि एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दिइएको छ । गाउँपालिकाको वडा नं २ रातापानीमा रहेको अनुजा कृषि तथा पशुपन्छी बिक्री वितरण तथा उत्पादन फर्मलाई कृषि एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दिएको उनले जानकारी दिइन् ।

‘फर्म आफैँले नयाँ गाडी खरिद गरेर कृषि एम्बुलेन्स चलाउनु भएको छ ,’ उनले भनिन् । कृषि एम्बुलेन्स सञ्चालनका लागि सवारीसाधनको लागि फर्मलाई गाउँपालिकाले ५ लाख रुपैयाँ अनुदान दिएको छ । फर्मसँग गाउँपालिकाले पालिकाको निर्देशन अनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न पाँच वर्षको लागि सम्झौता गरिएको उनले बताइन् । 

कृषि एम्बुलेन्सले पालिकाभित्र उत्पादन भएका वस्तु, खाद्य बाली, फलफूल, तरकारी बाली, पशुपंछी, माछामासु, जुट, उखुलगायतलाई बजारसम्म पुर्‍याउनेछ । साथै उपभोक्तालाई उचित मुल्यमा कृषिजन्य सामाग्री उपलब्ध गराउने गाउँपालिकाको कार्यविधिमा उल्लेख छ । कृषकले कति परिणामसम्मका कृषि उपज सामाग्री कृषि एम्बुलेन्समार्फत बिक्री गर्ने भनेर नतोकिएको कृषि विकास अधिकृत आचार्यले बताइन् । 

उनका अनुसार गाउँपालिकाले ताकेको समय तालिकाअनुसार प्रत्येक वडाका गाउँगाउँमा गएर कृषि उपज सामग्री कृषि एम्बुलेन्सले ढुवानी गर्छ । ‘हामीले सबै वडामा प्रत्येक हप्ता कृषि एम्बुलेन्स जाने गरी समयतालिका बनाएका छौँ । त्यही अनुसार वडा वडामा कृषि एम्बुलेन्स जान्छ’ कृषि एम्बुलेन्सलाई कृषि उपज सामाग्री बेच्नुपर्ने कृषकले सम्पर्क गरेर पहिले नै जानकारी गराउने उनले बताइन् । 

कृषि एम्बुलेन्सको माध्यमबाट कृषिउपज खरिद गर्दा किसानलाई प्रतिकिलो थप २ रुपैयाँ नाफा हुने गरी खरिद गर्न गाउँपालिकाले निर्देशनसमेत दिएको उनले बताइन् । कृषि उपजका सामाग्री एम्बुलेन्सले बजारसम्म लगेर बिक्री गर्ने उनले बताइन् । स्थानीय बजारमा बिक्री नभएका कृषि सामाग्रीलाई पालिकाबाहिर शहरी क्षेत्रमा समेत लगेर बेच्ने गरेको छ । 

कृषि एम्बुलेन्सको समय तालिका बनाउने र मूल्य निर्धारणको काम पालिकाबाटै भइरहे पनि यसको अनुगमनको काम सुरु नभएको कृषि विकास अधिकृत आचार्यले बताइन् । ‘असारबाट कृषि एम्बुलेन्स सुरु भएको छ । अहिलेसम्म अनुगमन गरेका छैनौँ । अब चाँडै नै केही समयपछि अनुगमन र मुल्यांकन गछौँ,’ उनले पालिकाखबरसँग भनिन् ।