close

अलैंची खेतीमा आकर्षण, प्रविधि र सीप नहुँदा उत्पादनमा भगवान भरोसा

अलैंची खेतीमा आकर्षण, प्रविधि र सीप नहुँदा उत्पादनमा भगवान भरोसा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सिरिजंघा गाउँपालिकामा पछिल्लो समय अलैंचीको उत्पादन घट्दै गएको छ । गाउँपालिकाभित्र लगाइएका अलैंचीको बोटमा मलजल तथा स्याहारको अभाव भएकाले उत्पादन घट्दै गएको हो । 

गाउँपालिकाको कृषि सेवा शाखाका संयोजक सुमन भट्टराईका अनुसार पालिकाभित्र प्रति रोपनी करिब १० केजी अलैँची उत्पादनमा कमी आएको छ । विगतका वर्ष प्रति रोपनी ३० देखि ३२ केजीसम्म अलैँची उत्पादन हुने गर्दथ्यो । तर गत वर्ष प्रति रोपनी २२ केजी उत्पादन भएको छ, उनले पालिकाखबरसँग भने । तर गाउँपालिकामा अलैँची खेती गरेको क्षेत्रफलबारे कुनै तथ्यांक नभएको उनले सुनाए । 

अलैँची उत्पादनमा कमी भएपछि गाउँपालिकाले सोबारे अनुसन्धान गरेको उनले सुनाए । उनका अनुसार अलैँचीका बोटमा मल तथा सिँचाइको कमी, स्याहार सुसारको कमी र गानो कुहिने समस्याले उत्पादनमा कमी आएको उनले बताए ।

'अलैँची रोपेपछि २० वर्ष उत्पादन दिन्छ,' उनले भने, 'त्यसैले समयानुसार सिँचाइ, मल तथा किटनाशक औषधिको प्रयोग गर्नुपर्छ ।' किटनाशक औषधि प्रयोगको लागि गाउँपालिकाले कृषकलाई आवश्यक परामर्शका साथै निःशुल्क किटनाशक औषधि वितरण गरेको उनले सुनाए । साथै विरुवामा मलजलको लागि समेत अनुरोध गरेको उनले बताए । सिँचाइका लागि गाउँपालिकाले कृत्रिम प्लाष्टिककाे पाेखरी र पानी ट्यांकी वितरण गरेकाे उनकाे दाबी छ ।

उनका अनुसार अलैँची खेती गाउँपालिकाको प्रमुख नगदे बाली हो । करिब १२ वटा कृषि समूहले अलैँची खेती गरेको उनले सुनाए । अलैँची उत्पादनको सम्भावना भएको तथा राम्रो बजार भएकाले स्थानीयको आर्कषण पनि रहेको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकामा उत्पादन हुने अलैँची प्रतिकेजी एक हजार २०० देखि एक हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ । 

गाउँपालिकामा अलैँचीको जोन भएकाले पनि उत्पादनमा सहज भएको उनको भनाइ छ । सो जोनले वडा नम्बर ६ को नामन्चेमा अलैँची खेतीको लागि आवश्यक सामग्रीहरुको वितरण गरेको उनले बताए । साथै युएनसँगको सहकार्यमा 'वोन कन्ट्री वोन कम्युनिटी' भन्ने प्राजेक्टबाट अलैँची उत्पादनको लागि केही कार्यक्रम सञ्चालन गर्न लागेको उनले सुनाए ।