close

फूल बेच्न गढवाले ‘एम्बुलेन्स’ उपलब्ध गराउने

फूल बेच्न गढवाले ‘एम्बुलेन्स’ उपलब्ध गराउने

Trulli
ADVERTISEMENT

दाङ– गढवा गाउँपालिकाले प्लाष्टिकजन्य फूलको बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादन भएको फूलको खपत गर्ने उदेश्यले पहिलोपटक प्लाष्टिकजन्य फूलमा प्रतिबन्ध लगाएको हो । 

पालिकाभित्रका बजारमा प्लाष्टिकजन्य फूलको बिक्री वितरणको अवस्था बुझ्न गाउँपालिकाले तीन दिन बजार अनुगमन गरेको गढवाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले बताइन् । उनले भनिन्, ‘हामीले कातिक २२, २३ र २४ गते बजार अनुगमन ग¥यौँ । यस वर्ष प्लाष्टिकजन्य फूल बेच्न राखेको पाइएन ।’ 

अनुगमनको क्रममा गत वर्ष बिक्री नभएका प्लाष्टिकजन्य फूल फेला परेको र सोको नष्ट गरिएको उनले पालिकाखबरलाई बताइन् । गाउँपालिकाले १५ दिन अघि नै प्लाष्टिकजन्य फूल बिक्री र वितरणमा निषेध गरेर सूचना निकालेकाले व्यापारिले नयाँ सामान खरिद नगरेको उनको भनाई छ । 

गाउँपालिकाको ३ वटा वडामा व्यवसायिक रुपमा पुष्प खेती गरिएको उनले बताइन् । उनले भनिन्, ‘वडा नं १ मा ३ कठ्ठा, वडा नं ४ मा २ कठ्ठा र वडा नं ५ मा २ कठ्ठा क्षेत्रफलमा पुष्प खेती गरिएको छ ।’ 

वडा नं १ मा यस वर्ष चाँडै फूल फुलेकाले कृषकहरुले त्यहाँको फूल कोल्ड स्टोरमा भण्डारण गरेर राखेको उनले बताइन् । उनका अनुसार ३ क्विन्टल फूल छिमेकी लमही नगरपालिकाको कोल्ड स्टोरमा भण्डार गरेर राखिएको छ । गाउँपालिकामा पनि कोल्ड स्टोर निर्माणधिन रहेको र छिट्टै सञ्चालनमा आउने उनले बताइन् । 

गाउँपालिकामा प्लाष्टिक जन्य फूलमा प्रतिबन्ध लगाइएकाले यस वर्ष गाउँपालिकाभित्र उत्पादन भएको फूल पालिकामै खपत हुने उनले बताइन् । यदि पालिकाभित्र बिक्री नभएमा काठमाडौंमा बिक्री गर्नको लागि रणनीति बनाएको उनले सुनाइन् । उनले भनिन्, ‘गाउँपालिकाको आफ्नै कृषि भ्यान छ । पालिकाभित्र बेचेर बाँकी भएको फूल बेच्न गाउँपालिकाले कृषकले भ्यान उपलब्ध गराउँछ । उहाँहरु आफैँले फूलको मुल्य निर्धारण गरेर काठमाडौंसम्म लगेर बेच्नुहुन्छ ।’ गाउँपालिकाले फूल बिक्री नभएर कृषकहरु मर्कामा पर्ने अवस्था सिर्जना हुन नदिने उनले बताइन् ।