close

लालबन्दीको गोलभेँडा विराटनगरदेखि पोखरासम्म

चिस्यान केन्द्र नहुँदा १०० रुपैयाँ पर्ने गोलभेँडा १५ रुपैयाँमा बेच्न बाध्य

लालबन्दीको गोलभेँडा विराटनगरदेखि पोखरासम्म

चिस्यान केन्द्र नहुँदा १०० रुपैयाँ पर्ने गोलभेँडा १५ रुपैयाँमा बेच्न बाध्य

Trulli
ADVERTISEMENT

सर्लाही– गोलभेँडा उत्पादनका लागि नेपालभर प्रख्यात नाम हो लालबन्दी, जुन नामबाटै लालबन्दी नागरपालिका बनेको छ । गोलभेडा उत्पादनको हिसाबले धेरै राम्रो छ तर भण्डारका लागि चिस्यान केन्द्र नभएपछि किसानहरूको गोलभेडा खेर जाँदा बर्सेनि किसानहरूले लाखौं बराबरको नोक्सानी व्यहोर्दै आएका छन् । 

कोल्ड स्टोरको अभावमा कृषकहरूले सस्तोमा तरकारी बिक्री बाध्य छन् । त्यतिमात्र नभई नबिकेका गोलभेडा त्यतिकै कुहिएर जाने नगरपालिकाका कृषि शाखा प्रमुख गोकर्ण पौडेलले बताए । उनको अनुसार नगरपालिकामा गोलभेँडासँगै सिमी, बोडी, भन्टा, खुर्सानी लगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन हुन्छन् । वर्षायाममा काँक्रो, घिरौँला, भिण्डी, परबल लगायतका तरकारी उत्पादन हुने उनले बताए । 

६६४१९ जनसंख्या रहेको नगरपालिकामा ११ हजार ४ सय ३७ जना तरकारी खेतीमा संलग्न  छन् । नगरपालिकाको ५७.४ प्रतिशत खेतीयोग्य जमिन छ । १३ हजार १४५ हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार ७ सय ५५ हेक्टर जमिनमा खेतीपाति गरिएको छ । सो मध्ये ६ हजार ३७४ हेक्टर जमिनमा तरकारी खेती भएको उनले जानकारी दिए । 

उखु खेतीका कृषकहरू पनि पछिल्लो समयमा गोलभेडा खेतीतर्फ आकर्षित भएको उनले बताए । ‘उखुमा भन्दा तरकारीबाट आम्दानी भएकाले गोलभेँडा खेतीमा कृषकहरू आकर्षित भएका छन् ।’ नगरपालिकाको ६० प्रतिशत जमिनमा सिँचाइको सुविधा भएकाले तरकारी खेती गर्ने कृषक धेरै भएको उनले जानकारी दिए । 

तर कृषकले उचित मुल्य नपाउदा समस्या भएको उनले पालिकाखबरसँग बताए । ‘अहिले गोलभेँडा  एक हजार ५०० रुपैयाँसम्ममा कृषकहरूले बेचिरहेका छन् । तर, धेरै उत्पादन हुने मौसममा एक क्रेट गोलभेँडा २०० रुपैयाँमै बेच्नुपर्ने बाध्यता आउँछ,’ नेपाल सरकारले तरकारी आयातलाई नियन्त्रणका लागि सिमा क्षेत्रमा कडाइ गर्न नसक्दा कृषक मारमा परेको उनी बताउँछन् । उनका अनुसार भारतको तरकारीसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्नुपर्दा किसानहरूले सस्तोमा बेच्न बाध्य हुनु परेको हो । 

चिस्यान केन्द्रको स्थापनाको लागि पालिकाले केन्द्रीय र प्रदेश सरकारसँग माग गरेको उनले बताए । उनले भने, ‘नगरपालिका आफ्नै खर्चले कोल्ड स्टोर निर्माण गर्न सक्दैन । संघीय र प्रदेश सरकारसँग माग गरे पनि सम्बोधन भएको छैन ।’ मौसममा कृषकले राम्रो बजार नपाउँदा सो तरकारीलाई भण्डार गर्न पालिकामा चिस्यान केन्द्र नरहेको उनले बताए । 

नगरपालिकाभित्र नै थोक बजार केन्द्र सञ्चालन भएकाले कृषकहरूलाई तरकारी बेच्न भने समस्या छैन ।  वडा नं ७ मा नेपाल सरकारबाट नै कृषि थोक बजार सञ्चालन रहेको शाखा प्रमुख पौडेलले पालिकाखबरलाई बताए । उक्त थोक बजारमा लालबन्दीको मात्र नभइ हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी आउँछन् । 

नगरपालिकाले कृषकहरूलाई तरकारी खेतीमा थप आकर्षित गर्न कृषकहरूलाई सीप विकास र प्राविधिक ज्ञान उपलब्ध गराएको उनले बताए । यस्तै बेमौसमी तरकारी खेतीबाट कृषकहरूले राम्रो आम्दानी गर्नसक्ने भएकाले नगरपालिकाले बेमौसमी तरकारी खेती तथा प्लाष्टिक टनेल हाउसमा तरकारी खेतीको तालिम प्रदान गर्ने उनले जानकारी दिए । 

पालिकाभित्र उत्पादन भएका तरकारी थोक विक्री केन्द्रमार्फत काठमाडौं, पोखरा, बुटवल, सिन्धुली, रामेछापदेखि विराटनगर, इटहरीसम्म पुग्ने गरेको उनले बताए । तर, कृषकहरूलाई तरकारी बिक्री गर्न नगरपालिकाले बजार मूल्य निर्धारण गर्न नसकेको उनले बताए । ‘एकपटक नगरपालिकाले तरकारी मूल्य निर्धारण पनि थियो । व्यापारीहरू बीच कुरा नमिल्दा दिनहुँ मुल्य परिवर्तन गर्नुपर्थ्यो । तरकारी धेरै उत्पादन हुँदा व्यापारीले बजार घटाउन खोज्थे ।’ धेरै विवाद भएपछि नगरपालिकाले मूल्य निर्धारण गर्न नसकेको र थोक बिक्री केन्द्रको बजार भाउमा तरकारीको कारोबार हुने उनले बताए ।