close

गाउँलिकाका पूर्वाध्यक्षको किबी मोह : १२० रोपनीबाट लाखौं आम्दानी

गाउँलिकाका पूर्वाध्यक्षको किबी मोह : १२० रोपनीबाट लाखौं आम्दानी

Trulli
ADVERTISEMENT

बागलुङ- बडिगाड गाउँपालिकाका संस्थापक अध्यक्ष मेहरसिंह पाइजा हाल किबी खेतीमा व्यस्त छन् । उनले किबी खेती २०५८ सालदेखि गर्न थालेका हुन् । 

साविक धौलागिरि अञ्चलमा पहिलो पटक किबी भित्र्याएर खेती सुरु गरेका ६० वर्षीय पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् । तत्कालीन समयमा प्रतिविरुवा एक हजार पाँच सयमा खरिद गरेका उनले २०६४ सालमा मात्रै व्यावसायिक खेती गर्ने सोच बनाएका थिए । उनी यतिबेला १२० रोपनीमा फलफूल खेती गरिरहेका छन् । पाइजाले गतवर्ष मात्रै चार हजार केजी किबी बिक्रीबाट पाँच लाखभन्दा बढी आम्दानी गरेको बताए । उनले हाल चार सय किबीका विरुवाबाट व्यवसायिक खेती गरिरहेका छन् । 

पालिका अध्यक्षको कार्यकाल सकिएलगत्तै उनी फेरि किबी खेतीमै रमाइरहेका छन् । “कृषि पेसाकै कारण मलाई धेरैले चिने, धौलागिरिका चार जिल्लामै पहिलो पटक किबी खेती भित्र्याउने मै हो”, पाइजाले भने, “कृषिबाटै जिल्लामा चिनिएको थिए, गाउँपालिकाको निर्वाचनमा पालिका अध्यक्षमै निर्वाचित भएँ, सो कार्यकालमा पालिकामा किबी खेती विस्तार गरेँ ।” उनले आफू अध्यक्ष भएका बेला किसानलाई अनुदान उपलब्ध गराएको समेत बताए । 

“गाउँपालिका अध्यक्ष भएपछि व्यस्तता बढ्यो, गाउँमा बसाइँ कम भयो, धेरै काम पालिका केन्द्रबाट गर्नुपर्ने हुँदा किबीले अलि स्याहार पाएन”, पाइजाले भने “अहिले त फुर्सद छ दिनभर किबीको स्याहार गर्न भ्याउँछु, परम्परागत कोदो, गहुँ र मकैबाली पूर्णरुपमा बन्द गरेर फलफूलमा लगानी गरेको हुँ ।” 

पाइजाको किबी खेती देखेरै यतिबेला बागलुङका कैयन किसानले व्यावसायिक किबी खेती सुरु गरेका छन् । गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ का लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, राजन जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी, ताराखोला गाउँपालिका–५ का नरबहादुर राना लगायत व्यावसायिक किबी खेतीमा व्यस्त छन् । 

बागलुङमा झण्डै ४० हेक्टर जमिनमा व्यावसायिक किबी खेती गरिँदै आइएको सरकारी तथ्याङ्क छ ।