close

सुपारीको खेर जाने पातबाट दुना-टपरी बनाउने योजनामा लेटाङ

सुपारीको खेर जाने पातबाट दुना-टपरी बनाउने योजनामा लेटाङ

Trulli
ADVERTISEMENT

मोरङ– लेटाङ नगरपालिकाले सुपारी खेतीको प्रवद्र्धन गर्ने योजना ल्याएको छ । नगरपालिकाले ४ वर्ष यता सुपारी खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । सुपारीको दानासँगै पातबाटसमेत आम्दानी होस् भन्दै उद्योगमा लगानीका लागि योजनासमेत बनाएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको ९ वडामध्ये वडा नम्बर ५, ६ र ९ का किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन् । नगरपालिकाका कृषि प्राविधिक करण श्रेष्ठका अनुसार कम लगानीमा वर्षौंसम्म आम्दानी गर्न सकिने भएकोले सुपारी  प्रोत्साहन कार्यक्रम ल्याएको हो ।  

हाल ती वडाहरूमा करिब ४०० किसानले  सुपारी खेती गर्दै आएका छन् । न्यून लगानीमा धेरै आम्दानी गर्न सकिने खेती भएकाले पछिल्लो समयमा सुपारी खेती किसानको रोजाइमा परेको नगरपालिकाले जनाएको छ । लेटाङमा व्यावसायिक किसानबाहेकले प्रत्येक घरमा सुपारीका बिरुवा रोप्नुले पनि उनीहरूको आकर्षण पुष्टि हुने नगरपालिकाको बुझाइ छ । 

उनका अनुसार चालु आर्थिक वर्षमा सुपारी उद्योग सञ्चालन गर्ने किसानलाई सहयोग गर्ने  पालिकाको योजना छ । सुपारीको पातबाट दुना, टपरी बनाउनको लागि नगरपालिकाले उद्योगलाई प्राथमिकतामा राखेको हो । उद्योग सञ्चालनका लागि नगरपालिकाले सहजीकरण गर्दै आएको छ । 

सुपारी उद्योग सञ्चालनमा आएपछि सुपारी खेती गर्ने कृषकहरुको थप आम्दानी हुने नगरपालिकाको विश्वास छ । सुपारीको विरुवालाई राम्रो स्याहारमा पुगेमा ५ वर्षदेखि उत्पादन दिन शुरु गर्छ । सुपारी व्यवसाय गर्ने किसानले एउटै बोटबाट लामो समयसम्म लाभ लिन सक्छन् ।

खेती गर्ने किसानका लागि आवश्यक बेर्ना पनि नगरपालिकभित्रै उत्पादन भइरहेको छ  । हाल १० हजार सार्न योग्य बेर्नाहरु छन् । तयारी अवस्था बेर्नाहरु कृषक, कृषक समुह, कृषि सहकारी, कृर्षि फर्मलाई वितरण गरिने कृषि प्राविधिक श्रेष्ठले बताए । 

लेटाङमा सुपारीबाहेक सुन्तला, अलैची र कफी खेती हुँदै आएको छ । यसअघि किसानहरुलाई नि:शुल्क १५ हजार कफीको बिरुवा वितरण गरेको नगरपालिकाले जनाएको छ ।