close

सिँचाइका लागि जमिनमुनिको पानी तान्न ७५ लाख बजेट

सिँचाइका लागि जमिनमुनिको पानी तान्न ७५ लाख बजेट

Trulli
ADVERTISEMENT

धनुषा– हंसपुर नगरपालिकाले सिँचाइ र खानेपानीको समस्या समाधान गर्न सिँचाइलाई विद्युतीकरण गर्ने भएको छ । सिँचाइका लागि पालिका जमिनमुनीको पानीमा निर्भर रहेकाले सहज तरिकाबाट सिँचाइ गर्न बोरिङ गर्नुपर्ने भएकाले विद्युतीकरण गर्न लागिएको हो । 

नगरपालिकाका प्रमुख प्रदिपकुमार यादवका अनुसार वर्षा नहुँदा पालिकामा सुख्खा लाग्छ । सुख्खा समयमा आकाशे पानीबाहेक खोला र नदीजस्ता अन्य कुनै पनि स्रोत नभएकाले खानेपानी र सिँचाइका लागि जमिनमुनिको पानीको भर पर्नुपरेको उनी बताउँछन् । 

नगरपालिकाका अधिकांश मानिस कृषिमा संलग्न छन् । त्यसैले  नगरपालिकाले कृषकलाई फ्रि बोरिङको व्यवस्था गरेर खानेपानी र सिँचाइमा जमिनमुनीको पानीको प्रयोगमा सहजता उपलब्ध गराउन लागेको नगरप्रमुख यादवले बताए । 

नेपाल विद्युत प्राधिकरण र हंसपुर नगरपालिकाबीच दुई पक्षीय सम्झौताअनुसार नगरपालिकाले सिँचाईका लागि विद्युतीकरण गर्न लागेको हो । हंसपुर नगरपालिका र प्राधिकरणको ५०/५० प्रतिशत लागत साझेदारीमा कृषकका खेतमा बोरिङबाट पानी निकाल्न विद्युतीकरण गर्न लागिएको कृषि शाखाका प्रमुख राम भजन यादवले बताए । उनको अनुसार सो कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ७५ लाख नेपाल विद्युत प्राधिरकणको लगानी रहने उनले बताए । 

उनले भने, ‘यो कार्यक्रम चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको हो । अहिलेसम्म कार्यक्रम सुरु भइसकेको छैन । यहाँ नौ वडा र ३२ टोलहरू छन् । सबै क्षेत्रको सिँचाइमा विद्युतीकरण गछौँ ।’ कृषकको खेत–खेतमा विद्युतीकरणका साथै विद्युतका लागि मिटर जडान र बोरिङका लागि पाइप पनि नि:शुल्क उपलब्ध गराइने उनले बताए । 

नगरपालिकाले सिँचाइ गर्दा विद्युतमा अनुदान दिने समेत नीति लिएको छ । बोरिङको सुविधाबाट सिँचाइ गर्न विद्युतीकरण गरिसकेपछि कृषकहरुलाई सिँचाइमा अनुदान दिने शाखा प्रमुख यादवले बताए । उनले भने, ‘सिँचाइ गर्दा उठेको महशुलमा पनि सहुलियत दिन्छौँ । कति सहुलियत दिने भनेर सिँचाइलाई विद्युतीकरण गर्ने काम सकिएपछि निर्णय हुन्छ ।’ 

आलु, काउली, गोभीलगायत पालिकामा सबैभन्दा धेरै उत्पादन हुने तरकारी हो । ती सबै तरकारी उत्पादनका लागि सिँचाइ अनिवार्य भएकोले विद्युतीकरणमा पालिकाले जोड दिएको हो । उनी भन्छन्, ‘यहाँ उत्पादन भएका तरकारी पालिका बाहिर पनि जान्छ । बाहिरबाट यहाँ तरकारी पनि आउँछ ।’ तर बोरिङको सुविधा भएपछि पालिकामा तरकारीको उत्पादनमा थप वृद्धि हुने उनको विश्वास छ ।