close

बारीमै कुहिन थाल्यो गोलभेँडा

बारीमै कुहिन थाल्यो गोलभेँडा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक ४०० देखि ५०० क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले २०० क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।  

गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए । उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् ।

गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष एक लाखको पनि बिक्री नभएको बताए । “बीउ, गोडमेल, औषधिलगायतमा करिब रू तीन लाख जति खर्च भएको छ”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब छ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।” 

इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा दुई लाख १० हजार नाफा भएकामा यस वर्ष ५०० क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो ।

गतवर्ष दुई लाख २३ हजारको गोलभेँडा बेचेकी खिनकुमारी बस्नेतले यस  वर्ष झण्डै एक लाख घाटा व्योहर्नुपरेको सुनाइन् । वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लाग्नुभएका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिए । 

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँग समन्वय गरेर  गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए ।