close

एउटै पालिकामा २६ सय मौरीपालक : १९ हजार किलो मह उत्पादन

एउटै पालिकामा २६ सय मौरीपालक : १९ हजार किलो मह उत्पादन

Trulli
ADVERTISEMENT

इलाम– रोङ गाउँपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा आधुनिक प्रविधिका सामग्री वितरण गरेसँगै मौरी पालनबाट कृषकले पालिकामा करोडौं भित्र्याएका छन् । 

हाल पालिकाभर २६०० किसानहरू मौरीपालन पेशामा आवद्ध रहेको कृषि शाखा अधिकृत तिर्थराज देवकोटाले बताए । कृषकहरूले स्थानीय सेरेना जातको लोकल मौरी पालन गरेर प्रतिघारबाट ८ देखि १० केजीसम्म मह उत्पादन गर्दै आएको उनले बताए। 

उनले भने, ‘गत वर्ष करिब १९ हजार किलो मह उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा ३० हजार किलो मह उत्पादन हुने लक्ष्य छ,’ २० घार मौरी पालन गर्ने किसानले वार्षिक २ लाख ५० हजार भन्दा बढीसम्म आयआर्जन गरिरहेको कृषि शाखा अधिकृत देवकोटाले बताए ।

गाउँपालिकाले कृषक समूह, कृषि समूहसँग सहकार्य गरेर मह संकलन गरी लोगो लगाएर तथा प्याकिङ गरेर बजारीकरण गर्ने योजना समेत बनाएको उनले सुनाए । छिमेकी जिल्ला झापा हुँदै काठमाडौँसम्म पालिकामा उत्पादन भएका महको माग हुने गरेको उनले पालिकाखबरलाई बताए । 

पालिकाले परम्परागत घारलाई हटाएर आधुनिक घार स्थापना गरिदिएको छ । साथै मौरी घार लगायतका सामाग्रीमा गाउँपालिकाले ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । उनले भने, ‘मौरीको क्षेत्र विस्तार गर्नलाई गत वर्षमात्र ८०० आधुनिक मौरीको घार वितरण गरिएको छ  । चालु आर्थिक वर्षमा पनि १ हजार आधुनिक घार वितरण गर्ने योजना छ ।’

मौरीको क्षेत्र विकास, किसानलाई क्षमता विकासको लागि तालिम प्रदान गर्दै आएको अधिकृत देवकोटाले बताए । उनका अनुसार कृषकलाई प्रोत्साहन गर्न काम हेरेर उत्कृष्ट कृषकलाई गाउँपालिकाले पुरस्कार समेत दिँदै आएको छ । 

मौरी पालनको लागि प्रदेश सरकारको शसर्त अनुदानमार्फत गत आर्थिक वर्ष ५० लाख वजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा ४० लाख बजेट उपलब्ध भएको उनले बताए ।