पर्वत– महाशिला गाउँपालिका बाँदर आतंकले हैरान बनेको छ । गाउँ गाउँमा पसेर किसानले लगाएका मकै, धानजस्ता अन्नबाली सखाप बनाउँदा गाउँपालिकाको सबैभन्दा ठूलो चुनौती नै बाँदर आतंक बनेको छ ।
बाँदरले सबै बालीमा क्षति पुर्याएर कृषकलाई हैरान बनाएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाल बताउँछन् । ‘बाँदरले विनाश गर्न बाँकी नै केही राखेको छैन । घाँसबाहेक जे बाली लगाए पनि खाइदिन्छ,’ अध्यक्ष भुसाल भन्छन्, ‘अचेल त बोटमा फलेको सुन्तला पनि बाँदरले खाएर हैरान पारेको छ । बाली दिनरात कुरिएन भने बाँदरले सबै सखाप पार्छ,’ खेती गर्दा हरेक घरबाट अनिवार्य हेरालु बस्नुपर्ने बाध्यता उनले बताए ।
पछिल्लो समयमा गाउँमा मान्छे कम भएकाले पनि बाँदरको आतंक बढेको उनको बुझाइ छ । उनी भन्छन्, ‘पहिले पनि बाँदर लाग्थ्यो । गाउँमा बाँदर धपाउने मान्छे पनि टन्नै हुन्थे । अचेल खेती नभएको बाँझो जमिन पनि धेरै छ । बाँदर धपाउने मान्छे पनि छैनन् ।’
‘बाँदरलाई कोक्रो’ कार्यक्रम ल्याउँदा कानुनी झन्झट
महाशिला गाउँपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले बाँदरलाई नियन्त्रणमा लिन गाउँपालिकाले ‘बाँदरलाई कोक्रो’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर, कानुनी र आर्थिक हिसाबले पनि सो कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए ।
त्योबेला गाउँपालिकाले बाँदरलाई कोक्रोले छोपेर नियन्त्रणमा लिने र राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष तथा तत्कालीन वडाध्यक्ष भुसालले बताए । ‘हामीले ५०० बाँदरलाई चितवन राष्ट्रिय निकुञ्जमा पुर्याएका थियौँ,’ उनले पालिकाखबरसँग भने ।
तर, राष्ट्रिय निकुञ्जमा लगेर बाँदर छाड्न निकै झन्झटिलो कानुनी प्रकृया रहेको उनले सुनाए । उनले भने, ‘स्वस्थ बाँदरलाई मात्र निकुञ्जमा लगेर राख्न मिल्ने रहेछ । त्यसको लागि पोखरा पुर्याएर सबै बाँदरको स्वास्थ्य परीक्षण गर्नुपर्ने रहेछ,’ पोखरामा करिब दुई तीनदिन बसेर बाँदरको स्वास्थ्य परीक्षण गरेर चितवन राष्ट्रिय निकुञ्जसम्म पुर्याएको उनले सम्झिए ।
सो अभियान बढी खर्चिलो र झन्झटिलो भएकाले एक आर्थिक वर्षमात्र सञ्चालन गर्न सकिएको उनले बताए । उनले भने, ‘बाँदरलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जमा लगेर राख्न कुनै गाउँपालिका वा नगरपालिकाको मात्र प्रयासबाट सम्भव नै देखिएन ।’
बाँदरबाट बच्न अन्य विकल्पको खोजी
‘बाँदरलाई कोक्रो’ कार्यक्रम असफल भएपछि बाँदरबाट छुटकारा पाउन गाउँपालिकाले अन्य उपाय खोजी गरिरहेको गाउँपालिका अध्यक्ष भुसालले बताए ।
उनले भने, ‘म एक पटक दैलेख पुगेको थिएँ । त्यहाँका गाउँलेहरू मिलेर जङ्गली जनावरलाई गाउँमा पस्न नदिन पूरै गाउँलाई नै सेतो कपडाले बारेको देखेँ । त्यहाँ बाँदर पनि पसेको रहेनछन् ।’ सोबाट प्रभावित भएर चालु आर्थिक वर्षमा गाउँ गाउँलाई नै कपडाले बेरेर यसको प्रभावकारिता जाँच्ने योजनामा रहेको उनले बताए ।
उनले भने ‘अहिले नै सबै गाउँलाई कपडालाई बेर्ने होइन । एउटा गाउँलाई कपडाले बेरेर कत्तिको प्रभावकारी हुन्छ हेर्छौँ,’ वडा नं १ स्थित सुवद्रीखर्कलाई दशदेखि बाह्र फिट अग्लो नीलो कपडाले बार्ने उनले बताए ।
सो गाउँलाई नमुनाको रुपमा हेर्ने र प्रभावकारी भएका अरु गाउँलाई पनि कपडाले बेर्ने योजना गाउँपालिकाको छ । चालु आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेट छुट्याएर कपडाले गाउँ बेर्ने कार्यक्रम गर्न लागेको उनले सुनाए ।
कपडाले बार लगाउँदा बाँदरलाई गाउँभित्र पस्नबाट नियन्त्रण गर्न सकिने यकिन नभए पनि मृग, दुम्सी खरायोजस्ता जनावरबाट राहत मिल्ने उनको भनाइ छ । उनले भने, ‘दिउँसो हेरालु बसेर भए पनि बाँदर धपाउन सक्छन् । राति बाली खान आउने जनावरलाई रोक्न सकिन्छ ।’
बाँदरले नखाने खालको विरुवा रोप्ने तर्फ ध्यान दिएको उनले बताए । उनको अनुसार दाँते ओखर बाँदरले नखाने भएकाले गाउँपालिकाभित्र ओखरको खेती गर्ने योजना समेत बनाइएको छ ।