close

हरवाचरवा दलित महिला सामूहिक खेतीमा आकर्षित

हरवाचरवा दलित महिला सामूहिक खेतीमा आकर्षित

Trulli
ADVERTISEMENT

सप्तरी– शम्भुनाथ नगरपालिका–३ गढिमाई टोलका हरवा चरवा दलित महिला सामूहिक तरकारी खेतीतर्फ अग्रसर भएका छन् । 

विगतमा स्थानीय साहु महाजनका खेतबारीमा काम गरेर परिवार चलाउँदै आएकी सो गाउँका दलित महिला पछिल्लो समय सामूहिक सागसब्जी खेतीमा जुटेका हुन् । सो गाउँका २४ जना दलित महिलाले डेढ बिघा जग्गा भाडामा लिएर सामूहिक रूपमा तरकारी खेती सुरु गरेका छन् । 

गढिमाई हरवाचरवा बचत तथा ऋण समूहमार्फत विगत दुई वर्षदेखि सामूहिक सागसब्जी खेती सुरु गरेका दलित महिलाले स्थानीय भिखन चौधरी र फागु साहसँग जग्गा भाडामा लिएर मौसमी सागसब्जी खेती गर्दै आएको दुर्गीदेवी सदाले बताइन्। 

अघिल्लो याममा मकैसँगै घिरौला, भिन्डीलगायत करिब तीन क्विन्टल तरकारी उत्पादन गरी रु ५० हजार आम्दानी भएको समूहकी सदस्यसमेत रहेकी दुर्गीदेवीले बताइन्। साहुमहाजनकोमा मजदुरीमा मात्र सीमित रहँदै आएका सो गाउँका विपन्न दलित महिला जीविकोपार्जन गर्न कठिन भएपछि आफ्नो आयआर्जनको लागि सागसब्जी खेतीतर्फ अग्रसर भएको निलम सदाले बताइन् । अहिले समूहमा आलु, काउली, बन्दा, टमाटर, भण्टा, खुर्सानीलगायत सागसब्जी उत्पादन गरिरहेको उनले जानकारी दिइन् । 
    
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीले आवश्यक तालिमसँगै आर्थिक, प्राविधिकलगायत सहयोग गरेपछि आफूहरू सामूहिक सागसब्जी खेतीतर्फ अग्रसर भएको गढिमाई हरवाचरवा बचत तथा ऋण समूहका अध्यक्ष पलहास सदाले बताए । 

‘हामीलाई सागसब्जी खेतीबारे केही थाहा थिएन’, अध्यक्ष पलहासले भने, ‘श्रीपुर्राज सामुदायिक केन्द्रले पहिला हामीलाई समूहमा आबद्ध गराएर सागसब्जी लगाउनेबारे तालिम दियो । तालिमपश्चात् सामूहिक सागसब्जी खेतीका लागि भाडामा जग्गा उपलब्ध गराउनुको साथै बीउबिजन र मलखादको व्यवस्था पनि त्यही संस्थाले गरिदिएको छ’, उनले भने । 

सागसब्जी खेतीका लागि जग्गासँगै बीउबिजन, मलखाद्यसमेत व्यवस्था भएपछि समूहका महिलाले सामूहिकरूपमा सागसब्जी उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका अध्यक्ष पलहासले बताए । खेतीको लागि सिँचाइ गर्न विद्युतीय मोटरसमेत जडान गरिएको छ । 

अहिले यामअनुसारको  सागसब्जी उत्पादन गर्दै आएको निलम सदाले बताइन् । ‘पहिले घरमा फुर्सदमा रहेकाले आफूलाई दिन बिताउन गाह्रो हुन्थ्यो, व्यवसायका रूपमा खेती गर्नुपर्छ भन्ने थाहा भएन ।’ उनले भनिन्, ‘संस्थाबाट तालिम लिएको र घरपरिवारको साथ पाएकाले आफूहरूले यो पेसा रोजेका हौँ ।’

पुरुषको तुलनामा महिलाको सहभागिता सागसब्जी खेतीमा उत्साहप्रद पाइएको छ । घरव्यवहार चलाउन महिला नै प्रमुख भूमिकामा हुने भएकाले आयआर्जनका काममा पनि उनीहरू नै अग्रसर भएका श्रीपुर्राज सामुदायिक विकास केन्द्रका बिजली राम बताउँछन् । केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उनले बताए । सामूहिक रूपमा गाउँका महिलाअघि व्यावसायिक खेतीका माध्यमबाट अघिबढ्न सके आर्थिकसँगै सामाजिक क्षेत्रमा ठूलो परिवर्तन आउने उनको ठम्याइ छ ।