close

बसाइँसराइ रोक्न ‘कर्मशिल जनशक्ति रोजगार’ कार्यक्रम : १०० जनालाई रोजगारी

बसाइँसराइ रोक्न ‘कर्मशिल जनशक्ति रोजगार’ कार्यक्रम : १०० जनालाई रोजगारी

Trulli
ADVERTISEMENT

अर्घाखाँची- भुमिकास्थान नगरपालिकाबाट रोजगारीको नाममा दाङ, रुपन्देही र कपिलबस्तुलगायतका क्षेत्रमा बसाइ सरेर जानेको संख्या अत्यधिक भएपछि नगरपालिकाले बसाइसराइ रोक्न ‘कर्मशिल जनशक्ति रोजगार’ कार्यक्रम ल्याएको छ । 

बसाइसाइ जाँदा सबै जग्गा खरिद नगरी जाने र बसाइसराइ नगएका स्थानीयहरूले पनि खेती नगर्दा पालिकाभर १५ सय रोपनीभन्दा बढी जग्गा बाँझो रहेको नगरपालिकाका सूचना अधिकारी हरिश्चन्द्र भुसालले पालिकाखबरलाई बताए । 

नगरपालिकाले बेरोजगारमा सूचीकृतलाई रोजगार दिन र बसाइसराइ रोक्नका लागि ‘कर्मशिल जनशक्ति रोजगार आयआर्जन कार्यविधि २०८०’ बनाएर ४ स्थानमा बाँझो जग्गामा प्याज खेती सुरु गरेको छ । पहिलो चरणमा नगरपालिकाले गत कातिकमा ७२ किलो प्याजको ब्याड राखेर खेतीको सुरुवात गरेको हो । भूमिकास्थान नगरपालिका वडा नम्बर २, ५, ७ र ९ का विभिन्न क्षेत्रमा ७२ किलो बिउको ब्याड बनाइएको थियो । ब्याड सार्नका लागि १५० रोपनी जग्गा व्यवस्था गरिएको छ । भूमिकास्थान-२ को खाकाबेसी, ५ को बाँझाखेत, ७ को डुम्रीचौर, ९ को सान्डेभासमेत गरी ४ स्थानमा १५० रोपनी क्षेत्रफलमा प्याज लगाइनेछ । 

नगरपालिमामा सुचीकृत भएका २ हजार १५० मध्ये ‘कर्मशिल जनशक्ति रोजगार’ कार्यक्रमबाट १०० जनालाई रोजगारी दिने कार्यविधि बनाई सकिएको छ । कार्यविधि अनुसार १५० रोपनी जग्गा बाँझो जग्गाको व्यवस्थाअनुसार ४ स्थानमा परेको छ । ४ वटै स्थानमा कर्मशिल समिति बन्नेछ । ती कर्मशिल समितिले दैनिक ज्यालादारीमा प्याजको बीउ उमार्नेदेखि उत्पादन भई किचनसम्म पुग्दा १०० जनाले रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।  

१५० रोपनी क्षेत्रफलमा नगरपालिकाले सुरु गरेको प्याज खेती आगामी वर्षदेखि ५०० रोपनी पुर्‍याउने नगरपालिकाको लक्ष्य छ । कार्यविधिअनुसार नगरपालिकाले बाँझो जग्गालाई नि:शुल्क वा सशुल्क लिन सक्ने व्यवस्था छ । यस वर्ष भने सबै जग्गा नि:शुल्क पाइएको नरगपालिकाले उल्लेख गरेको छ । 

यस वर्ष सोचेअनुरूप उत्पादन भएमा नगरपालिकाले एक लाख पाँच हजार किलो प्याज उत्पादन गर्नेछ । सूचना अधिकारी भुसालका अनुसार तत्कालै ठूला कलकारखाना खुल्ने अवस्था छैन । यस अवस्थामा कृषि उत्पादनलाई निरन्तरता दिनुपर्ने र कृषिमा रोजगारी दिनुपर्ने भएकोले नयाँ योजना अघि सारेर काम थालिएको हो । यसबाट नगरपालिकाभित्र प्याज आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाको विश्वास छ । 

आर्थिक वर्ष २०८०-८१ का लागि यस कार्यक्रम अन्तर्गत नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ । यो वर्ष पाइलट प्रोजेक्टको रुपमा राखिएको हुँदा योजना सफल भएमा वार्षिक नगरपालिकामै हजारभन्दा बढीलाई रोजगारी दिइने र करोडौं आम्दानी हुने नगरपालिकाले जनाएको छ । 

यसका साथै नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १०० जना र नगरपालिकाभिका विभिन्न योजनामा २०० जनालाई गरी थप ३०० जनालाई रोजगारी दिएको छ ।