close

१६८ मुरी धान फलाएका बम्जन गाउँपालिकाबाट पुरस्कृत

१६८ मुरी धान फलाएका बम्जन गाउँपालिकाबाट पुरस्कृत

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचवटा खेतमा फलेको १६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए ।

सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो । मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए । 

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए । उनले आफूले १०० मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगेका हुन् । 

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान १६८ मुरी प्रमाणित भएपछि उनी औधी खुशी भए । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । 

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । “वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ”, मकरबहादुरले भने । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ । 

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले  धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहनुभएको छ ।