close

एक घर एक टनेल : बालुवामा पानी

एक घर एक टनेल : बालुवामा पानी

Trulli
ADVERTISEMENT

काठमाडौं - पर्वतको महाशिला गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा स्थानीय बासिन्दालाई टनेलको लागि प्लाष्टिक वितरण गर्यो । गाउँपालिकाका अनुसार एक घर एक टनेलअन्तर्गत प्लाष्टिक टनेल वितरण गरिएको थियो  । 

टनेल निर्माणको लागि अधिकांश स्थानीय बासिन्दालाई प्लाष्टिक वितरण गरेको पालिकाले चालु आवबाट सो कार्यक्रम स्थगित गरेको छ । कार्यक्रम सोचे अनुरुप प्रभावकारी नभएपछि चालु आवबाट स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको कृषि शाखाका अधिकृत सन्तोष धितालका अनुसार तरकारीमा आत्मनिर्भर तथा उत्पादन बढाउनका लागि पालिकाले टनेल निर्माण कार्यक्रमलाई अघि सारेको थियो । सोही अनुरुप सबै स्थानीय बासिन्दालाई प्लाष्टिक वितरण गरी टनेल निर्माण गर्न लगाएको थियो । तर हावाहुरीले टनेल नै उडाएपछि सो कार्यक्रम नै स्थगित गरिएको उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकाले प्लाष्टिकको टनेललाई स्थगित गरी फलामे टनेल निर्माण गर्न लागेको उनको भनाइ छ । उनका अनुसार फलामको टनेल निर्माण गर्नका गाउँपालिकाले चालु आवमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकमबाट चालु आवमा ९० वटा टनेल निर्माण गरिने उनको दावी छ । 

तरकारी पकेट क्षेत्रलाई बढी प्राथमिकतामा राखेर टनेल निर्माण गरिने उनले सुनाए । सुरुवाती चरणमा गाउँपालिकाले ३० वटा टनेल निर्माण हुने उनको भनाइ छ । स्थानीय बासिन्दाको १५ प्रतिशत साझेदारीमा टनेल निर्माण गरिने उनले जानकारी दिए । उनका अनुसार गाउँपालिका क्षेत्रमा मौसमी, बेमौसमी, काउली, खुर्सानी तथा विभिन्न तरकारी बाली लगाइने उनको भनाइ छ । 

धनकुटाको महालक्ष्मी नगरपालिकाले दुई वर्ष पहिले युएनडिपीको सहकार्यमा स्थानीय बासिन्दालाई प्लाष्टिकको टनेल वितरण गरेको थियो । दुई वर्ष पालिकाभित्रका अधिकांश स्थानीय बासिन्दालाई प्लाष्टिकको टनेल वितरण गरेको नगरपालिकाले चालु आवमा बजेट विनियोजन गरेको छैन । 

नगरपालिकामा आन्तरिक स्रोतको कमी भएकाले चालु आवमा बजेट विनियोजन नगरेको पालिकाका कृषि पशुपन्छी तथा सहकारी उपशाखाका प्रमुख दिलकुमारी राईले बताइन् । उनका अनुसार पालिकासँग राजस्व संकलनमा कमी भएकाले पनि कार्यक्रमलाई निरन्तरता दिन नसकेको हो । साे कार्यक्रमलाई स्थगित गरी नगरपालिकाले कृषि उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेकाे उनकाे भनाइ छ ।

टनेल निर्माणका लागि युएनडिपीले तत्कालीन जनप्रतिनिधिसँग सहकार्यमा आफ्नै कर्मचारी परिचालन गरेको उनले बताइन् । युएनडिपीकै कर्मचारीको माहतहमा कार्यक्रम सञ्चालन गरिएकाले कति जनालाई टनेल वितरण गर्यो भन्नेबारे पालिकासँग तथ्यांक नभएकाले उनले सुनाए । 

'युएनडिपी आफैँले कृषक छनौट गरी टनेल वितरण गरेको थियो । सो तथ्यांक पालिकालाई दिएको छैन,' उनले भनिन्, 'हाल पालिकासँग तथ्यांक छैन । तर टनेल पाएका अधिकांशले तरकारी खेती नगरेको उनको बुझाइ छ । उनका अनुसार केही कृषकले मात्रै सो टनेलबाट उत्पादन लिदैँ आएका छन् ।'

अधिकांश स्थानीयले टनेलमा दाउरा, घाँस, पराल तथा अन्य सामग्री राख्ने गरेको उनको भनाइ छ । टनेलप्रति चासो दिनेले गोलभेँडा तथा बेमौसमी तरकारी उत्पादन गरी आय आर्जन गर्दै आएको उनले सुनाए । 

साथै सिँचाइको सुविधा भएको स्थानीय बासिन्दाले अझै टनेलको प्रयोग गर्दै आएको उनले बताए । उनका अनुसार नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा टनेल वितरण गरेको थियो । टनेल वितरण गरेको सुरुवाती दुई वर्षमा सो कार्यक्रम निकै प्रभावकारी भएको उनको जिकिर छ ।

एक वर्षमा लागि कार्यक्रम तयारी गर्दा कतै ‘पपुलारिटी’ र कतै आवश्यकताका आधारमा कार्यक्रम भन्छ । तर दीर्घकालीन योजना र  औचित्यबारे कमजोर अध्ययनले गर्दा निरन्तरता नपाएको विज्ञहरू बताउछन् । केही स्थानीयले त यसलाई ‘बजेट सिध्याउने सजिलो बाटो’ भन्ने आरोप पनि लगाउछन् । निरन्तरता दिन नसकिने कार्यक्रमबारे नागरिक समाज र पत्रकारले बोल्नुपर्ने स्थानीय बताउछन् ।