close

गुराँस–८ झ्याजेबाट ७० लाख बराबरको तरकारी निकासी

गुराँस–८ झ्याजेबाट ७० लाख बराबरको तरकारी निकासी

Trulli
ADVERTISEMENT

दैलेख- गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाएका छन् । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका हुन् । यही तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन् । 

“हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छौँ । आलुसँगै काउली बन्दा, टमाटर पनि चैत–वैशाखदेखि नै लगाउँछौँ । अनि वर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ”, उनले भने । आफ्नो यस वर्ष करिब पाँच लाख कमाई भएको सुनाए । “मेरो भएको जग्गाको अधिकांश बारीमा तरकारी लगाउने गरेको छु । केही नभए पनि एक याममा तीन–चार लाख त प्रत्येक घरकाले कमाउँछन् । तर हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन समस्या छ ।”

उनीमात्रै होइन, झ्याजेटोलकै गगनबहादुर खत्रीले पनि आफ्नो अधिकांश जग्गामा तरकारी खेती गर्दै आएका छन् । उनी पनि याममा चारदेखि पाँच लाख कमाई गर्छन् । उनी भन्छन्, “सबैभन्दा राम्रो कमाई आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली र बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ । तर कहिलेकाहीँ भाउ पाउँदैन ।”

यो टोलमा नौ घरपरिवार छन् । सबै घरपरिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । एक याममा मात्रै तरकारी खेती गर्ने गरिएको छ । तर पनि आम्दानी राम्रो छ । अर्का किसान बालकुमारी खत्री भन्छिन्, “वर्षायाममा मात्रै खेती गर्ने गर्छौँ । हिउँदयाममा तुसारो जम्छ, तरकारी उत्पादन गर्न सकिँदैन । हिउँदमा पनि उत्पादन गर्न सक्ने भए वर्षमा १० लाखसम्म एकजना किसानले आम्दानी गर्न सक्थ्यो ।”

यहाँ फागुन चैतबाट तरकारी खेती सुरु हुन्छ भने कात्तिकसम्म बिक्री वितरण गर्ने गरिन्छ ।द तरकारी खेतीका लागि उपयुक्त ठाउँ रहेको सो टोलका किसान स्थानीय पालिकाबाट सहयोग नपाएको गुनासो गर्छन् । आफूहरूलाई अनुदानमा मल र बीउ उपलब्ध गराउनुपर्ने र  विभिन्न सरकारी कार्यक्रम लागू गर्न माग गर्छन् ।