close

बारीबाटै बिक्री हुन्छ बडीकेदारको अदुवा

बारीबाटै बिक्री हुन्छ बडीकेदारको अदुवा

Trulli
ADVERTISEMENT

डोटी– बडीकेदार गाउँपालिकाका कृषकहरु व्यावसायिक रुपमा अदुवा खेतीमा संलग्न छन् । पालिका भित्रका कृषकहरु कृषि समुहमा संलग्न भएर व्यवसायिक अदुवा खेती गर्दै आएका हुन् । 

पालिकामा गत आर्थिक वर्षमा मात्र  ५ सय मेट्रिक टन अदुवा उत्पादन भएको पालिकाका कृषि प्राविधिक सुरेन्द्रकुमार शाहले बताए । उनका अनुसार पाँच सयभन्दा बढी कृषकहरुले सो अदुवा उत्पादन गरेका हुन् । कृषि समुहमार्फत कृषकहरुले अदुवा उत्पादन गर्दै आएकाे उनले बताए । 

१५ देखि ३० जना कृषकहरुले कृषि समुह बनाएर पालिकामा दर्ता हुन्छ । केही कृषि समुहले उत्पादन गरेको अदुवा अर्गानिक भ्याली सुर्खेतले संकलन गरी प्रशोधन गरेर बजारीकरण गर्ने गरेको उनले पालिकाखबरलाई जानकारी दिए । 

‘गाउँपालिकाका ३/४ कृषक समुहले उत्पादन गरेको अदुवा अर्गानिक भ्यालीले संकलन गरेर सुर्खेत लाने गरेको छ’, उनले भने । चालु आर्थिक वर्षमा गत वर्षकोभन्दा तुलनामा अदुवाको उत्पादन बढ्ने अनुमान उनको छ । 

गाउँपालिकाको सबै वडामा अदुवा उत्पादन हुने गरेको कृषि प्राविधिक साहले बताए । उनले भने, ‘वडा नम्बर ४ र ३ मा सबैभन्दा धेरै उत्पादन हुन्छ । वडा नम्बर १, २ र ५ ठिकै मात्रामा अदुवा उत्पादन हुन्छ । ’

अदुवा नगदेबाली भएकोले वर्षेनी अदुवा लगाउने गरेको उनले बताए । पालिकामा अदुवा उत्पादन गर्नेमध्ये आधा कृषकले २० हजार देखि ५० हजारसम्म अदुवा बेचेर आम्दानी गर्ने गरेको उनले बताए । ५० हजार देखि १ लाखसम्म र  १ लाखभन्दा बढी आयआर्जन गर्ने  कृषकहरु २५ २५ प्रतिशत रहेको उनको भनाइ छ । 

किसानले ५ सय हेक्टर भन्दा बढी जमिनमा अदुवाखेती उत्पादन गर्ने गरेका उनले बताए । अदुवाको मौसमअनुसार मुल्य घटबढ भैरहने भएकाले मुल्यमा एकरुपता नभएको उनले बताए । उनले भने, ‘दशै तिहारमा ७० देखि ८० रुपैयाँ किलोमा विक्री गरेका थिए । पुस माघमा पसेरी (ढाई किलो)को हिसाबले १५० रुपैयाँसम्मको दरले बिक्रि गरेको उनले बताए । फागुन चैतमा भने पसेरीको २ सयदेखि ३ सय रुपैयाँसम्म विक्री हुने हुन्छ ।’ पालिकाको अदुवा सुर्खेत, नेपालगन्ज, धनगढी, अत्तरिया तथा भारतमा पनि निर्यात हुँदै आएको उनले बताए । 

यातायातको सुविधा नहुँदा अदुवा सुकाएर विक्रि हुने गरेको भएपनि हाल व्यापारी किसानको बारीमा पुगेर अदुवाको नमुना लिएर बारीबाट नै ठेक्कामा लिने गरेको उनले बताए । पालिकाले संघिय सरकारको अनुदान कार्यक्रम अन्तर्गत कृषक समुहमा औषधी, प्राविधिक र मिनिकिट निशुल्क वितरण गर्दै आएको उनले जानकारी दिए ।