close

बाँझो जग्गामा नगर बगैँचा

बाँझो जग्गामा नगर बगैँचा

Trulli
ADVERTISEMENT

सर्लाही– बागमती नगरपालिकाले बाँझो जग्गाको उपयोग गर्दै नगर बगैँचा निर्माण गरेको छ । बगैँचाबाट फलफूल बेचेर नगरपालिकाको दीर्घकालीन रुपमा आम्दानी स्रोत बढ्ने र जग्गाको संरक्षण समेत हुने भएकाले नगर बगैँचा निर्माण गरेको हो । 

आम्दानी र उत्पादनलाई जोड्न नगरपालिकाले करिब १३० बिघा जमिनमा बगैँचा निर्माण गरेको नगरपालिकाका कृषि अधिकृत अवधेश कुमार झाले बताए । करिब चार वर्षअघि बनाइएको बगैँचामा आँपका विरुवाहरु हुर्किरहेका छन् ।

गत वर्षबाट आँपको विरुवामा फूलसमेत फुल्न थालेको उनले बताए । उनले भने, ‘गत वर्ष बोटमा अलिअलि फूल फूलेको थियो । पहिलो वर्ष फुलेकाले त्यसलाई हामिले बेचेनौँ । फूललाई नष्ट गर्‍यौँ ।’ 

बाँझो जग्गालाई सदुपयोग गर्ने तर्फ नगरपालिकाले ध्यान दिँदै नगर बगैँचा तयार गरेको हो । सार्वजनिक वनमा झाडि उम्रिएर खेर गइरहेको जग्गाको झाडी हटाएर तथा खोलाको छेउका जमिनको संरक्षण गर्न आँपको विरुवा रोपिएको कृषि प्राविधिक हिमाल बहादुर शाहीले बताए । पालिकाभित्रका विभिन्न स्थानमा गरेका करिब १५ हजार आँपको विरुवा रोपिएको छ । बगैँचामा अम्रपालि, मल्लिका, बम्बई, दशहरी आदि जातका आँप रोपिएको उनले जानकारी दिए ।

बागमती नगरपालिकाको १२१ बिघा क्षेत्रफलमा निर्माणधीन रहेको भरत ताल पछिल्लो समयमा आकर्षणको केन्द्र बनेको छ । भरत ताल वरिपरि तथा नगरपालिकाका अन्य सार्वजनिक उपयोगमा नआएका जग्गामा आँपको बगैँचा निर्माण गरेको कृषि प्राविधिक शाहीले जानकारी दिए । उनका अनुसार वडा नं ४ र वडा नं १२ गरि संयुक्त रुपमा ९० विघा जग्गामा आँपका विरुवा रोपिएका छन् । यस्तै वडा नं ३ मा ४० विघा क्षेत्रफलमा आँपका बगैँचा बनाइएको छ । 

फलफूल रोप्दा झाडि मात्र नहटि खोला र वनको संरक्षण हुने र नगरपालिकालाई आर्थिक स्रोतका साथै स्थानीयलाई रोजगार बनाउन नगर बगैँचा स्थापना भएको उनी बताउँछन् । गत वर्षबाट आँप फल्न थालेपनि फूल नष्ट गरिएकाले हालसम्म आँप बिक्री सुरु भएको छैन । यस वर्षदेखि आँप फल्न थाल्ने भएकाले ठेक्का लगाउने चरणमा नगरपालिका रहेको उनले सुनाए । ‘जसको ठेक्का पर्छ उहाँहरुले नगरपालिकालाई ठेक्का तिरेर कारोबार गर्नुुहुन्छ ।’

आँप बहुवर्षे विरुवा भएकाले रोपेको ९/१० वर्षपछि राम्रोसँग फल्न थाल्ने र ५० वर्ष भन्दा धेरै समयसम्म फल्ने उनले सुनाए । लामो समयसम्म यसले आम्दानी दिने भएकाले नगरपालिकाको दिगो रुपमा आर्थिक स्रोत बन्ने उनले सुनाए । 

‘अहिले बगैँचालाई ठेक्का लगाउने, तारबार गरेर व्यवस्थित बनाउने काम गरिरहेका छौँ । बगैँचाको राम्रोसँग व्यवस्थापन गरेपछि अरु क्षेत्रमा समेत बगैँचा विस्तार गर्ने योजना छ,’ उनले पालिकाखबरसँग भने ।