close

हलेसी तुवाचुङमा एक वर्षमा ३७ टन बदाम उत्पादन

हलेसी तुवाचुङमा एक वर्षमा ३७ टन बदाम उत्पादन

Trulli
ADVERTISEMENT

खोटाङ– बुबाको पालादेखि गरिँदै आएको बदाम खेतीलाई व्यावसायिक बनाएका हलेसी तुवाचुङ नगरपालिका-८ का निरकुमार राईले बर्सेनि लाखौं आम्दानी गर्दै आएका छन् । 

बाजे र बुबाको पालामा घरमा खानका लागि गरिएको बदाम खेतीलाई निरकुमारले नगदे बालीको रुपमा व्यावसायिब बनाएपछि उनको आम्दानीको मुख्य स्रोत बनेको छ । यसपालि मात्र बदाम बेचेर १ देखि डेढ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । 

बजारमा बदामको माग र मूल्य राम्रो भएको हुँदा मनग्ये आम्दानी भइरहेको उनले सुनाए । उनका अनुसार हाल बदाम घरैमा पाथीको ३५० देखि ४०० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । 

नगरपालिकाले बदाम उत्पादनमा सहयोग पनि गर्दै आएको छ ।  वडा कार्यालयबाट गाउँ,  टोलमै आएर घरधुरी संख्या र क्षेत्रफलका आधारमा बीउबिजन, किटनाशक औषधिलगायतका सामग्री निःशुल्क उपलब्ध गराउँदा उत्पादनमा टेवा पुगेको उनले सुनाए । 

वडा नं ८ मा सबैभन्दा बढी बदाम उत्पादन हुने गरेको पालिकाका कृषि शाखा संयोजक राजु साहले पालिकाखबरलाई जानकारी दिए । हलेसी तुवाचुङमा ११ वडा छन् । ती मध्ये वडा नं २, ३, ५ र ११ का आंशिक क्षेत्रमा बदाम उत्पादन हुने गरेको उनले बताए । 

नगरपालिकामा ४० हेक्टर जमिनमा बदाम उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्षमा ३७ दशमलब ९२ टन बदाम उत्पादन भएको हो । २३.०७ टन बदाम विक्री भइसकेको छ भने बाँकी १४.८४ टन बीउ र बेमौसममा बिक्रीका लागि राखेको साहले बताए ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये तुवाचुङ नगरपालिकामा सबैभन्दा धेरै बदाम उत्पादन हुने गरेको उनको दाबी छ । कृषि संयोजक साहकाअनुसार गत वर्षको तुलनामा यस वर्ष पानी बढी परेकोले बदाम उत्पादनमा कमी आएको छ । 

व्यावसायीले उत्पादित बदाम हलेसी बजार, दिक्तेल, बराहपोखरी, ओखलढुङ्गालगायतका बजारमा बिक्री गर्ने गरेको बताए । ‘धितुङ, दुर्छिम, बाहुनीडाँडा र अन्य वडामा पनि बदाम खेती गरिन्छ,’ उनले भने ।

बदाम खेतीमा आवद्ध भएर किसानले मनग्य आम्दानी गर्दै आएको नगर उपप्रमुख रमेशकुमार राउतले बताए । उनका अनुसार करिब ३० घरधुरी बदाम खेतीमा निर्भर छन् । 

उनले भने, ‘अहिले अझै बढी मात्रामा बदाम उत्पादन हुने गरेको थियो । पछिल्लो समय बसाइसराइ गरी स्थानीयबासी अन्यत्र जानेक्रम बढेकाले बदाम खेती गर्ने गर्ने किसान घटेका छन् । ’

बदामको पकेट क्षेत्र घोषणा, बाली संरक्षण, बढी उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख राउतले बताए । हलेसी पर्यटकिय स्थल भएकोले उत्पादित बदाम मेला तथा अन्य ठाउँमा खपत हुने गरेको उनले सुनाए । 

स्थानीय स्तरमा उत्पादित लोकल बदाम जापानी संस्थाले फ्याक्ट्रिमा लगेर जाम बनाउने गरेको छ । उत्पादित जाम विदेशसमेत निर्यात हुने गरेको उनले बताए ।