close

कृषि तथा पशुपालन सिकाइ र उत्पादन केन्द्र सञ्चालन गर्दै बौदीकाली

कृषि तथा पशुपालन सिकाइ र उत्पादन केन्द्र सञ्चालन गर्दै बौदीकाली

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व– बौदीकाली गाउँपालिकाले 'कृषि तथा पशुपालन सिकाइ र उत्पादन केन्द्र' सञ्चालनमा ल्याउने भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा गाउँपालिकाको योजना छनोट भएर सम्झौता भएपछि गाउँपालिकाले केन्द्र सञ्चालनमा ल्याउने भएको हो । 

गत माघ २८ गते प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा परियोजना सञ्चालन गर्ने सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताए । उनका अनुसार परियोजना सञ्चालनका लागि गण्डकी प्रदेश सरकारको ७५ लाख र पालिकाको ४६ लाख रुपैयाँ लगानी रहने छ । 

सो केन्द्रबाट गाउँपालिका, किसान, विद्यार्थी र प्राविधिकको संयुक्त मिलेर काम गर्ने उनले बताए । डेढगाउँ माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाअन्तर्गत कृषि शिक्षा प्रदान गरिन्छ । सो सिकाइ तथा उत्पादन केन्द्रमा गाउँपालिकाका प्राविधिक शिक्षालयका विद्यार्थीले सिक्ने अवसर पाउने उनको भनाइ छ । 

सिकाइ केन्द्रबाट फिल्डमै काम गरेर सिक्ने अवसर पाउने र उत्पादन भएका कृषि उपज बिक्री गरेर विद्यालयका लागि आम्दानीको स्रोतसमेत बन्ने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । विद्यार्थीहरुले किसानहरुलाई कृषि र पशुसँग सम्बन्धीत आवश्यक तालिमसमेत उपलब्ध गराउने छन् । 

अन्य पालिकाका प्राविधिक शिक्षालयबाट समेत शिक्षक र विद्यार्थीहरु आएर सिक्ने, वर्कसप गर्ने, विश्वविद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक कार्य गर्न मिल्ने गरि सिकाइ केन्द्र निर्माण गरिने छ । 

अनुदानमा उपलब्ध गराइने बिउ नउम्रने, समयमा नपाक्ने, फल नलाग्ने जस्ता समस्या देखिने गरेका छन् । उत्पादन केन्द्र सञ्चालनमा ल्याएर कृषकलाई बिउ, मल लगायतका सामाग्री वितरण गर्नु पूर्व बिउ र मलको परिक्षणको रुपमा केन्द्रमा उत्पादन गर्ने र उत्पादन राम्रो भएमा मात्र कृषकलाई वितरण गर्ने उनले पालिकाखबरलाई बताए । 

कृषि तथा पशुपालन सिकाइ र उत्पादन केन्द्र निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता गरे अनुसारका काम चालु आर्थिक वर्षभित्र सम्पन्न गरेर फरफारक गर्नुपर्ने उनले बताए । उनले भने, ‘परियोजनाको सुरुवातको लागि प्रदेश सरकारको समेत सहयोग रहेपनि आगामी आर्थिक वर्षबाट गाउँपालिका आफैँले पनि निरन्तरता दिन्छ ।’ 

हाल कृषि तथा पशुपालन सिकाइ र उत्पादन केन्द्र निर्माणको लागि जग्गा तयार गरिरहेको उनले बताए ।