close

फोन गरेकै भरमा किसानले पाउँछन् सेवा

फोन गरेकै भरमा किसानले पाउँछन् सेवा

Trulli
ADVERTISEMENT

स्याङ्जा– फेदीखोला गाउँपालिकाको किसान कल सेन्टरमा किसानका थरीथरीका गुनासो आइरहन्छ । कहिले आलुको बिरुवाको पहेँलो, खैरो रङ देखियो बिरुवा कुहियो भन्दै किसानको गुनासो आउँछ । 

गाउँपालिकाका कृषि शाखाका कर्मचारीले आलुमा डँढेलो लागेको बुझ्छन् र सोहि अनुसारका उपाय अपनाउन सुझाव दिन्छन् । किसानहरुले खेतबारीमा लगाएको बालीमा केहि समस्या भएमा कल सेन्टरमा तत्काल सम्पर्क गरेर गुनासो गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख बिशाल खड्का बताउँछन् ।

किसानले पैसा नलाग्ने कल सेन्टरको टोल फ्रि नम्बर १६६०–६३–४२४३४ मा सम्पर्क गरेर गुनासो राख्दै आएका छन् । किसानका टेलिफोनबाट आएका समस्या र गुनासोलाई पहिचान गरेर शाखाले दिने सक्ने सेवा तत्काल उपलब्ध गराउँदै आएको उनले बताए । गाउँपालिकाले तत्काल दिन नसक्ने सेवा भएमा समाधानका उपाय कृषकलाई उपलब्ध गराउँदै आएको उनले बताए । 

गाउँपालिकामा कृषकको सङ्ख्याको तुलनामा कृषि प्राविधिकको सङ्ख्या न्यून रहेको र यस्तो समयमा कल सेन्टर प्रभावकारी बनेको उनको भनाइ छ । उनी भन्छन्, ‘फोनमा आएका समस्या र गुनासाका आधारमा किसानका लागि कस्ता खालका योजना आवश्यकता छ भनेर पहिचान गर्न र त्यहि अनुसारका कार्यक्रम ल्याउन पनि गाउँपालिकालाई सजिलो भएको छ ।’ व्यवसायिक रुपमा कृषि गरिरहेका किसानलाई अनुदानका कार्यक्रम ल्याउन समेत कल सेन्टरबाट सहयोग पुग्दै आएको उनले बताए । 

हाल गाउँपालिकाको कृषि शाखामा ५ जना कर्मचारी कार्यरत छन् । कर्मचारीहरुले समय तालिका बनाएर कल सेन्टर सञ्चालन गर्दै आएको उनले जानकारी दिए । गाउँपालिकाको कार्यालय खुलेको दिन बिहान ११ बजेदेखि २ बजेसम्म कल सेन्टरको सुविधा लिँदै आएका छन् । 

गाउँपालिकाको कल सेन्टर आर्थिक वर्ष २०७७/०७८ देखि सञ्चालनमा ल्याएको हो । कल सेन्टरमार्फत तरकारी बाली, अन्न बाली, दलहन, नगदे बाली, बाली संरक्षण, मौरी, च्याउ र पशुपन्छी सम्बन्धित विषयहरुमा कृषकहरुको जिज्ञासा र समस्याहरु निःशुल्क रुपमा राख्न सकिने व्यवस्था मिलाइएको छ ।  

कल सेन्टरमार्फत गाउँपालिकाले २१ सय पटक किसानहरुको समस्या तथा गुनासो सुन्नुका साथै सेवा उपलब्ध गराइसकेको उनले बताए । 

उनले पालिकाखबरसँग भने, ‘विगत एक दुई महिना प्राविधिक कारणले गर्दा कल सेन्टर अवरुद्ध भएको थियो । त्यो समयमा कल सेन्टर सञ्चालनमा नआएको भनेर धेरै गुनासो आयो । अहिले भने सेवा सञ्चालन भइरहेको छ ।’