close

जैविक प्रविधिमार्फत खेती गर्दै रामप्रसादराई

जैविक प्रविधिमार्फत खेती गर्दै रामप्रसादराई

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले जैविक प्रविधिमार्फत खेती गर्न थालेको छ । गाउँपालिकाले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जैविक प्रविधिमार्फत खेती गर्न थालेको हो । 

गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका स्वकीय सचिव सुजिल राईका अनुसार पालिकाले नेपाल जलवायु नमुना कार्यक्रम हरित उर्जा प्रवर्द्धन तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत खेती प्रणाली सुरुवात गरेको हो । सोका लागि इसिमोड तथा सिप्रेड संस्थाको प्राविधिक सहयोगमा सो कार्यक्रम सुरु भएको उनले पालिकाखबरलाई सुनाए । 

कार्यक्रमको लागि गाउँपालिकामा ५ वटा कृषि सिकाइ केन्द्रको स्थापना भएको उनले बताए । उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ ओख्रेको खेना गाउँमा नमुना गाउँ निर्माण भएको छ । सो नमुना गाउँमा करिब ४० रोपनी क्षेत्रफल ओगटेको छ । 

यसैगरी वडा नम्बर ४ को दलगाउँ, वडा नम्बर ३ को भुल्केमा र वडा नम्बर ६ मा सिकाई केन्द्र निर्माण भइरहेको उनले सुनाए ।  गाउँपालिकामा विगत चार वर्षदेखि सो प्रोजेक्टमा कम भइरहेको उनले बताए । 

गाउँपालिकाले स्थानीय बासिन्दालाई समूहमा आबद्ध गराएर करिब ५५ देखि ६० रोपनी क्षेत्रफलमा जैविक प्रणालीमार्फत खेती गराउँदै आएको उनले सुनाए । इसिमोडले प्रदान गरेको प्राविधिकले स्थानीयलाई आवश्यक सहयोग गर्दै आएको उनले बताए । 

प्राविधिकले खेती प्रणाली, जैविक मल, कार्यशैली तथा सिँचाई शैलीको अवलोकन तथा आवश्यक परामर्श गर्ने उनले सुनाए । गाउँपालिका क्षेत्रको खेतीमा रासायनिक मललाई विस्थापित गरी जैविक मलको प्रयोग बढाउनका लागि सो कार्यक्रम सञ्चालन हुँदै आएको उनले सुनाए । 

कार्यक्रमले रासायनिक मल आयातमा रोकसमेत लगाउन सक्ने उनले बताए । सो कार्यक्रमको लागि गाउँपालिका र मन्त्रालयले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए ।