close

धरासायी मोबाईल व्यवसाय जोगाउन अब आयातकर्ताविरुद्ध आन्दोलन : अध्यक्ष भट्टराई

धरासायी मोबाईल व्यवसाय जोगाउन अब आयातकर्ताविरुद्ध आन्दोलन : अध्यक्ष भट्टराई

Trulli
ADVERTISEMENT

सुनसरी- नेपाल मोबाईल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईले मुलुकभर सक्रिय ५० हजार भन्दा बढी मोबाईल व्यवसायी धरापमा परेको बताएका छन् । महासंघको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको बताए । अध्यक्ष भट्टराईले भने, ‘गर या मरको अवस्थामा पुगेका छौं, अब कित त मार्जिन बढाईदिनुपर्याे हैन भने आयातकर्ताविरुद्ध आन्दोलनको विकल्प छैन, महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छ ।’

वैधानिक रुपमा पाउने २० प्रतिशत मुनाफा आफुहरुले नखोजेको भन्दै व्यवसाय बचाउन सक्ने मार्जिन विना अब मोबाईल नबेच्ने गरी छलफल चलिरहेको अध्यक्ष भट्टराईले बताए । 

मोवाईल व्यवसायी महासंघका महासचिव रमेश घिमिरेले व्यवसाय गर्ने हो भने व्यवसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नुपर्नेमा जोड दिए । महासंघमा आबद्ध पनि हुन नचाहने अनि अव्यवसायिक कार्य गर्नेका विरुद्ध महासंघ चनाखो रहेको महासचिव घिमिरेले बताए । 

मोबाईल व्यवसायी महासंघका बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यले स्मार्ट फोन बेच्ने व्यवसायी आफैं पहिले स्मार्ट बन्नुपर्ने सुझाए । मोबाईल अनलक गर्ने सेवा दिइरहेका व्यवसायीले अनाहकमा आरोपीत बन्नुपर्ने अवस्थाको अन्त्य महासंघले चाहेको संयोजक आचार्यको भनाई थियो । 

मोबाईल व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्णराज पुरी, हाम्रो मोबाईल संघ धरानका अध्यक्ष जीवन शाक्य लगायतले मोबाईलको अवैधानिक कारोबारलाई नियन्त्रण गर्दै व्यवसायिक वातावरण बनाएर सुरक्षित व्यवसाय गर्ने वातावरण बनाईदिन सरकारसँग अनुरोध गरे । 

मोबाईल वितरक संघका कोशी प्रदेश अध्यक्ष हरि उप्रेतीले मोबाईल व्यवसाय पछिल्लो समय निकै जटिल बन्दै गएको बताए । उनले भने, ‘आयातकर्ताले गुदी खान्छ, वितरणकको भागमा बोक्रा पर्छ, धोक्रो चाहिं व्यवसायीले बोक्नुपर्छ ।’ संयोजक उप्रेतीले आर्थिक हिसाबले पनि सुरक्षित नभएको व्यवसाय प्रशासनबाट पनि असुरक्षित हुनुपरेको गुनासो गरे । 

महासंघको कोशी प्रदेश कमिटी गठन
कोशी प्रदेशका १४ जिल्लाबाट धरानमा जम्मा भएका व्यवसायीहरुको भेलाले जीवन शाक्यको अध्यक्षमा ७ जना पदाधिकारीसहित २७ सदस्यीय महासंघको प्रदेश कमिटी गठन गरेको छ । कोशी प्रदेशको उपाध्यक्षमा झापाका केशव श्रेष्ठ र संखुवासभाका गुणराज श्रेष्ठ, महासचिवमा सुनसरीका सविन लम्साल, सचिवमा झापाका शिव खतिवडा, कोषाध्यक्षमा सुनसरीका बिमला खतिवडा र सह कोषाध्यक्षमा झापाका मनोज ढकाल निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा पुण्य बराल, लोकेन्द्र बुढाथोकि, दिपेश गुप्ता, बजीन्द्र मैनाली, विन्द्रकुमार राई, लोकमान तामांग, दीपेन्द्र सिंगक, राजु भट्टराई, विश्वबन्धु श्रेष्ठ, लेखराज श्रेष्ठ, किरण रत्न भण्डारी, रमेश कटुवाल, ओमप्रकाश रेग्मी, आशिषराज यादव निर्वाचित भएका छन् ।