close

विराटनगर महानगरपालिकाले पौने चार अर्बको बजेट ल्याउँदै

विराटनगर महानगरपालिकाले पौने चार अर्बको बजेट ल्याउँदै

Trulli
फाईल फोटो
ADVERTISEMENT

मोरङ-  विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झन्डै २० करोड रुपैयाँ रकम बढाउँदै पौने ४ अर्बको बजेट ल्याउँदैछ । संवैधानिक व्यवस्थाअनुसार आज असार १० गते सोमबार नै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याउन लागेको हो । 

महानगर कार्यपालिकाको गत शुक्रबार बसेको बैठकले आगामी वर्षको अनुमानित आय व्यय विवरणसहित आर्थिक प्रस्ताव र विनियोजन विधेयक नगर परिषद्मा पेश गर्ने निर्णय गरिसकेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ८० करोड रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको स्रोतको दाबी छ । 

आगामी वर्षको बजेटमा महानगरपालिकाले खासै नयाँ कार्यक्रमहरूलाई ठाउँ दिएको छैन । लक्ष्यअनुसार राजश्व सङ्कलन नभएपछि महानगरले केही नगर स्तरीय बाहेक नयाँ कार्यक्रमहरू समावेश नगरेको बताइएको छ । 

महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब २ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको भए पनि गत वर्षको जति राजश्व सङ्कलन गर्न महानगरलाई हम्मे परेको छ । गत वर्ष महानगरले ६४ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । 

आगामी वर्षको बजेटमा महानगरपालिकाले सबै वडाहरूलाई समानुपातिक रूपमा २ करोड रुपैयाँको बजेट सिलिङ तोकेर योजना माग गरेको थियो । त्यसका आधारमा अधिकांश वडाहरूले योजना र कार्यक्रमको विवरण महानगरमा बुझाइसकेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ ले सबैभन्दा बढी २ करोड ५० लाख रुपैयाँको सिलिङ प्राप्त गरेको छ । केही वडाले २ करोड २० लाख रुपैयाँको सिलिङ पाएका थिए । वडा नम्बर ६, ९, र १२ ले आइतबारसम्म बजेट सिलिङका आधारमा योजनाहरू पेस गरेका छैनन् । 

महानगरपालिकाले आर्थिक वर्ष २०७८ ७९ मा ४ अर्ब ७२ करोड ९ लाख ७९ हजार ५ सय रुपैयाँको बजेट ल्याएको थियो । तर, उक्त वर्ष यथार्थ आय भने २ अर्ब ७४ करोड ९० लाख ७४ हजार ६०३ रुपैयाँ मात्रै भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९र८० मा महानगरपालिकाले ३ अर्ब ७३ करोड ७५ लाख ६७ हजारको बजेट नगर सभाले पारित गरेको थियो । उक्त बजेटमा अनुमान गरेभन्दा ४० करोडले कम ३ अर्ब ३३ करोड ६८ लाख ८२ हजार ४४२ रुपैयाँ आम्दानी हुँदा ३ अर्ब ५५ करोड ६२ लाख ८० हजार १९२ रुपैयाँ खर्च भएको महालेखा परीक्षण कार्यालयको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षका लागि भने महानगरपालिकाले ३ अर्ब ६१ करोड ३५ लाखको बजेट कार्यान्वयन गरिरहेको छ ।