close

१०० मुरी धान फलाउने किसानलाई पालिकाको ५० हजार

१०० मुरी धान फलाउने किसानलाई पालिकाको ५० हजार

Trulli
ADVERTISEMENT

पाँचथर- धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो । 

कार्यविधिअनुसार ५० मुरीदेखि १०० मुरीसम्म धान उत्पादन गर्ने कृषकले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । 

गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकले जानकारी दिए । उनका अनुसार आवेदन दिन कृषकले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनु पर्नेछ । 

अधिकांश विपन्न परिवारले धान, मकैलगायत परम्परागत खाद्यबाली उत्पादनमा जोड दिइरहेका छन् । फाल्गुनन्दका सातवटै वडामा धानखेती हुने गर्दछ । यहाँ रहेको निबु खोलाले सबै वडाको तटीय क्षेत्रलाई सिञ्चित गर्ने गरेको छ । निबुको बेँसी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो ।