close

विद्युत् चाेरी गरी चलाउनेमा मौलापुर सबैभन्दा अगाडी

विद्युत् चाेरी गरी चलाउनेमा मौलापुर सबैभन्दा अगाडी

Trulli
ADVERTISEMENT

रौतहट- मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् चुहावट भएको देखिन्छ ।

प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेसका अधिकांश वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ । मधेश प्रदेशका २३ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै चुहावट मौलापुरमा देखिएको र हुकिङ गरेर, मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति देखिँदै उनले बताए । 

मधेस प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा पर्छ– बाराको सिम्रनगढ वितरण केन्द्र । सो केन्द्रमा पनि ४३ दशमलव २३ प्रतिशत विद्युत् चुहावट भएको छ । यस्तै तेस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा मलङ्गा वितरण केन्द्र दर्ज भएको छ । सो केन्द्रबाट पनि गत आवभरिमा ४२ दशमलव ९१ प्रतिशतले विद्युत् चुहावट भएको छ ।

प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट विद्युत् चुहावट एक दशमलव ४० प्रतिशतमात्र रहेको छ । दोस्रो सबैभन्दा कम चुहावट हुने वितरण केन्द्रमा मिर्चैया वितरण केन्द्र रहेको छ । सो केन्द्रको विद्युत् चुहावट तीन दशमलव ०१ प्रतिशत छ । त्यस्तै तेस्रो कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा वीरगञ्ज वितरण केन्द्र पर्छ । सो केन्द्रको चुहावटको हिस्सा पाँच दशमलव ८८ प्रतिशत छ ।

मधेस प्रदेश प्रादेशिक कार्यालयका अनुसार गत आवमा प्रदेशमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरेको थियो ।