close

नेपाल बंगलादेश बैंक नबिलमा गाभिने 

नेपाल बंगलादेश बैंक नबिलमा गाभिने 

Trulli
ADVERTISEMENT

काठमाडौं– नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक्विजिसन (प्राप्ति) सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नबिल बैंकका उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन् । 

 

बैंकले यसका लागि संयुक्त मर्जर/एक्विजिसनसम्बन्धी समिति गठन गरेका थिए । समितिको सिफारिसअनुसार बिहीबार सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकले उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मत पारित गरेको हो ।

 

एक्विजिसनसम्बन्धी प्रक्रिया अगाडि बढाउन नबिल बैंकका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा बैंक सञ्चालक आशा राणा अधिकारी तथा अनन्त पौड्याल सदस्य थिए । 

 

नेपाल बंगलादेश बैंकबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, इन्द्रबहादुर थापा, अमन शाह र सदस्य सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटी बनेको थियो ।

 


नबिल बैंकले प्राप्ति गर्न भएको समझदारीपत्रअनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात कायम गरिएको छ ।

 

उक्त प्रारम्भिक सेयर आदानप्रदान अनुपात सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदनलाई समेत आधार मानी अन्तिम रूपमा तय हुनेछ । दुवै बैंकले राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकको दीर्घकालीन रणनीतिक योजनासमेतलाई दृष्टिगत गरी सम्झौता गरेर अघि बढेको जनाएका छन् । 

 

ब्रान्डका हिसाबले अग्रणी रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि वाणिज्य बैंकमध्ये सबै सूचकांकमा अब्बल हुने दाबी गरिएको छ ।

 

दुई बैंकले प्राप्ति कार्य ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । प्राप्तिपछि नबिल बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ अर्ब ५० करोड, कर्जा रकम ३ खर्ब र निक्षेप रकम ३ खर्ब १४ अर्ब रुपैयाँ पुग्नेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० अर्ब रुपैयाँ माथि पुग्नेछ । शाखा सन्जाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाख नाघ्नेछ ।