close

सामाजिक व्यक्तित्वकाे पनि सालिक बनाउने कि ?

सामाजिक व्यक्तित्वकाे पनि सालिक बनाउने कि ?

Trulli
ADVERTISEMENT

काठमाडाैं - सालिक कसको बनाउने ? प्रायजसाे स्थानको पहिचानका लागि वा समाजमा योगदान दिएकाहरूको सम्मानमा सालिक बनाउने गरिन्छ । नेपालकाे सन्दर्भमा राजा रजौटा र प्रभावशाली नेताको सालिक बनाउने ‘प्रथा’ छ । 

राजनीतिककर्मी, विभूति, साहित्यकार, शहीद आदीको बाहेक खासै नेपालमा सालिक ठहरिँदैन । स्थान पहिचानको नाममा पछिल्लो समय साँढे, सुँगुर, दुम्सी, गाई, फलफूल, भाले, काग, कानलगायतको सालिक बनाइएको छ । स‌ंघीय  संरचनामा सरकार गठन भएपछि स्थानीय तह आफैंले आफ्नै पालिकाको पहिचान भन्दै कानदेखि कागसम्मका सालिक निर्माण कार्य तीव्र बनाएका छन् । 

तर नेपालमा जनतासँगै रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायत सामाजिक व्यक्तित्वकाे सालिक बनाइएको कतै पाइँदैन । उनीहरू जनतासँगै बसेर समाजकाे सुरक्षा, स्वास्थ्य उपचार तथा सरसफाइमा खटिरहेका हुन्छन् । उनीहरूलाई योगदान दिने समूहमा किन राखिएन ? उनीहरुकाे सम्मान स्वरुप स्थानीय तथा संघीय सरकारले सालिक निर्माणमा चासाे किन देखाएनन् ? समाजकाे सेवामा तल्लीन पेसाकर्मीकाे पहिचान दिन सरकार किन माैन रह्याे ?

तर, छिमेकी मुलुक भारतमा ती पेसाकर्मीकाे सम्मानका साथ सालिक निर्माण गरिएको छ । भारतको पूणे महानगरपालिकाको मयुर कोलोनीमा उनीहरूको सालिक निर्माण गरिएकाे हो । पुणेले जनताको सुरक्षामा खटिने प्रहरी, महानगरपालिकालाई सफा राख्न सधैं खटिरहने कुचीकारसँगै उपचारमा संलग्न चिकित्सक र नर्सको सालिक निर्माण गरेकाे हाे । कोभिडको बेला अग्रपंतिमा रहेर काम गरेका पेसाकर्मीहरूको सम्मानस्वरुप महानगरपालिकाले मयुर कोलोनीको एउटा चोकमा सालिक निर्माण गरेको हो । 

तरकारीदेखि जनावरसम्मका सालिक बनाउन होडबाजी गर्ने नेपालका स्थानीय तहले भारतको पुणे महानगरपालिकाबाट सिक्न जरुरी छ । स्थानीय तहमै बसेर जनताकै सेवामा खट्ने पेसाकर्मीको सालिक निर्माण गर्न सकेमा उनीहरूको पेसाको सम्मान पनि हुनेछ ।