close

सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलनका लागि केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने

सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलनका लागि केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने

Trulli
ADVERTISEMENT

काठमाडाैं - सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुन लागेको लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्न लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्दछ । सम्मेलन हुनुअघि प्रदेश सरकारले केन्द्र सरकारसँग विभिन्न नीतिका बिषयमा लगानीकर्ताहरुलाई विश्वस्त पार्नेगरी छलफल गर्न आवश्य छ ।

सम्मेलनले नेपालभरीका व्यापारी, कर्पोरेट नेता, शिक्षाविद्, इनोभेटर्स र सरकारी नेतृत्वका लागि सामूहिक रूपमा सम्पुर्ण सुदूरपश्चिम प्रदेश व्यापार अवसर र साझेदारीको खोजी गर्ने मञ्चका रुपमा सुदूरपश्चिम विकास तथा लगानी सम्मेलन परिणत हुनुपर्दछ । 

उद्योगी, व्यापारी र लगानीकर्तालाई विश्वस्त पार्न सम्मेलन गर्नु अघि सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रीय सरकारसँग सहकार्य गरी निम्न नीतिहरुमा अनुमोदित वा संशोधित गर्नुपर्ने भएमा उक्त कार्य गरी सम्पुर्णलाई विश्वस्त तुल्याउनुपर्ने हुन्छ । 

छलफलका लागि यहाँ प्रस्तुत गरिएका मूख्य नीतिमाथि सुदूरपश्चिम सरकारले केन्द्र सरकारसँग तत्काल छलफल गर्नुपर्ने देखिन्छ र सम्मेलन अघि नै सोअनुसार नीतिहरु बनाउनु पर्दछ ।    
१, विशेष प्याकेजका लागी दिशा निर्देशन
२, मेगा उद्योग र औद्योगिक नीति 
३, प्रदेश सरकारको सरसमान उपलब्धता नीति 
४, व्यापार सुरुवात नीति 
५, लघु, साना तथा मझौला उद्यम नीति 
६ निजी औद्योगिक नीति 
७, निर्यात नीति 
८, पर्यटन व्यवसाय तथा रोजगार नीति 
९, आयकर ऐन नीति (जसमा लगानीकर्ताहरुलाई आकर्षित गर्न के कस्तो करका दरहरुमा सहुलियत प्रदान गरेको छ ।)
१०, अन्य स्थानीय ऐन नियम नीति ।

यी माथि उल्लेखित नीतिहरुबारे प्रदेश सरकारले तत्कालै केन्द्र सरकारसँग छलफल गरेर निष्कर्षमा पुगेपछि मात्रै लगानी सम्मेलनलाई प्रभावकारी बनाउन सकिन्छ । सुदूरपश्चिम प्रदेश आफैँमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको क्षेत्र हो । 

सम्मेलनले लगानीकर्ता, निजी र सार्वजनिक संस्थाहरूलाई अत्याधुनिक प्रविधि, आविष्कार, र भविष्यका चुनौतिहरुको सामना गर्नका लागि पनि सहयोग गर्न र प्रदर्शन गर्ने अवसरहरू पनि प्रदान गर्ने कुरामा सिंगो सुदूरपश्चिमवासी आशावादी छन् । 

सम्मेलनका विभिन्न सत्रहरुमा उद्योग व्यापारमा देखिएका विभिन्न चुनौति, अवसरहरूमा वास्तविक र व्यापक छलफल गरेर लगानी र विकास सुनिश्चित हुनेमा थप आशावादी हुन सकिन्छ । 

राज्यले आकर्षक प्रोत्साहन र प्रक्रियागत समर्थनसहित क्षेत्रगत र व्यापक सहजीकरणसहित दुवै किसिमका बृहत् नीतिहरूले लगानीकर्ताहरू समक्ष सरकारी अनुमोदनसहितको वाचा–पत्र प्रस्तुत गरी भूमि र पूंजी अनुदान, ब्याज अनुदान लगायतका सुविधासहित सुदूरपश्चिम प्रदेशलाई एक आकर्षक लगानी गन्तव्यका रुपमा परिचित गर्नका लागि सम्मेलन एक सुनौलो अवसर बन्नुपर्दछ ।

प्रदेश लगानी सम्मेलनले आफ्ना लगानीकर्ताहरूको लागि राम्रो निर्णय लिने काममा सहयोग र लगानीकर्ताहरुलाई सहयोग गर्न विजनेस–टु–विजनेस र सरकार–देखि–व्यवसाय बैठकहरू पनि सञ्चालन गरेको खण्डमा लगानी सम्मेलनको औचित्यलाई अझै पुष्टी गर्न सकिने छ  भन्ने कुरामा सरोकारवालाहरुको ध्यान आकृष्ट गर्न चाहान्छु ।

शदिऔँदेखि केन्द्रको हेपाहा दृष्टीमा परेको सुदूरपश्चिम संघीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि केहि तङ्ग्रिन थालेको छ । एकात्मक राज्य व्यवस्थाको सबैभन्दा ठूलो मारमा परेको सुदूरपश्चिममा संघीय गणतन्त्रपछि विकासको सुरुवात भएको छ । सिंगो देशको अर्थतन्त्र र विकासमा टेवा पुर्याउन सक्ने अथाह सम्भावनाहरु भएर पनि विगतमा एकात्मक शासन प्रणालीले सुदूरपश्चिम उपेक्षामा पर्दै आएको तितो सत्य हो ।
 
सुदूरपश्चिममा खप्तडदेखि शुक्लाफाँटा, चुरैदेखि तराईका समथर फाँटहरु यहाँका ठूलो सम्भावना बोकेका क्षेत्रहरु हुन् । सुदूरपश्चिम मिश्रित भाषा र संस्कृतीले भरिपुर्ण छ ।

यहाँका नदी नालाहरुले देशको उर्जा क्षेत्रमा ठूलो योगदान गर्न सक्छन् भने तराइका फाँटहरुमा उद्योग र कलकारखानाले ठूलो रोजगारी सिर्जना गर्न सक्छन् । 

फप्तड र शुक्ताफाँटा आरक्ष क्षेत्रले स्वदेश तथा विदेशी पर्यटक लोभ्याउनका साथै त्यहाँ पाइने विभिन्न बहुमुल्य वनस्पती र जडिबुटीले देशको अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।

यी सबै अथाह सम्भावना बोकेका क्षेत्रमा योजनाबद्ध ढंगले लगानी भित्र्याउन सर्बप्रथम प्रदेश सरकार नै आफैँमा योजनापुर्ण ढंगले सम्मेलनको तयारीमा जुट्नु पर्दछ । होइन भने  लगानी सम्मेलनका नाममा कुनै स्वार्थ समुहले आफ्नो इच्छा मात्रै पुरा गर्नेछ र सुदूरपश्चिम फेरि पनि त्यही गरिबी, बेराजगारी, परनिर्भरता र विभेदमा बाँच्न बाध्य हुनेछ । 

सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलनबाट विभिन्न उद्योगी, व्यापारी, लगानीकर्ताहरुलाई हामीले आर्कषित गर्न सक्यौं भने त्यसले विकासको मुल फुट्न धेरैसमय लाग्नेछैन् । 

लगानी सम्मेलनले हाल सुदूरपश्चिममा भएका उद्योग, कलकारखानाहरुका अपठ्यारा र समस्याहरुका बिषयमा पनि सम्मेलनमा एजेण्डागत छलफल हुनुपर्दछ । जसले सञ्चालनमा रहेका थोरै उद्योग, कलकारखाना, व्यापार, व्यवसायलाई थप विकास गर्न सहज होस् । 

सम्मेलनले राजनीति स्वार्थभन्दा पनि सिंगो सुदूरपश्चिमको समग्र विकासलाई ध्यान राखेर सफलतापुर्वक सम्पन्न गर्न सकोस् शुभकामना ब्यक्त गर्दछु ।