काठमाडौँ । काठमाडौँमा हरेक दिन फोहरका डंगुरको उचाइ बढ्दै छ । समस्या समाधानका विषयमा हरेक दिन सयौँ नयाँ तर्क–वितर्क अघि सारिन्छन् । तर दशकौँ बितिसक्यो, समस्या ज्युँका त्युँ छ ।
काठमाडौँबाट हरेक दिन झन्डै एक हजार मेट्रिक टन फोहर डम्पिङ साइटसम्म पुग्छन् । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार सामान्यतया उत्पादित फोहोरको ७० प्रतिशत कुहिने फोहोर हुन्छन् । जसबाट कम्पोस्ट मल बनाएर कृषि कार्यको लागि प्रयोग गर्न सकिन्छ ।
महानगरको जानकारी यो कुरा आएको पनि दशकौँ बितिसक्यो । तर, आजसम्म न मल उत्पादन हुन सकेको छ, नत त्यस तर्फ उचित पहल नै।
राजधानीबासीको घरघरबाट निस्किने फोहर मध्ये ९.१८ प्रतिशत प्लास्टिक, ८.५१ प्रतिशत कागज, ०.५४ प्रतिशत रबर, ३.०२ प्रतिशत कपडा/वस्त्र, ०.९२ प्रतिशत धातु, २.५० प्रतिशत सिसा/काँच, ०.१२ प्रतिशत छालासँगै काम नलाग्ने तथा निष्क्रिय फोहर ४.३३ प्रतिशत हुन्छन् ।
तीमध्ये २० प्रतिशत फोहरलाई पुनः प्रशोधन गर्न सकिन्छ भने १० प्रतिशत मात्रै कुनै काममा आउँदैन । त्यसलाई डम्पिङ साइटमा नै व्यवस्थापन गर्नुपर्छ ।
अहिले काठमाडौँ महानगरले व्यवस्थापनको ठोस योजनाबीना नै स्रोत छुट्याएर मात्र फोहर घरबाट निकाल्न निर्देशन दिएको छ । तरपनि, महानगरले कस्ता प्रकृतिका फोहर कसरी व्यवस्थापन गर्ने भनेर अहिलेसम्म निर्णय गर्न नसकेको वातावरणीय शाखा प्रमुख सरिता राई स्विकार्छिन् ।
‘विभिन्न विधि र प्रविधिकाबारे अध्ययन र छलफल भइरहेको छ । तर कुन विधि प्रयोग गर्ने भन्ने निर्णय भएको छैन,’ पालिकाखबरसँग प्रमुख राईले बताइन् ।
नागरिकले फोहरलाई घरघरबाटै छुट्टाएर पठाउन सिकेको खण्डमा दिर्घकालिन रुपमा फाइदा हुने भएकाले महानगरले अहिलेदेखि नै फोहर फाल्न र उठाउन कडाइ गरेको हो । तर, अहिलेसम्म काठमाडौँको फोहरको दुर्गन्ध सुँघेर बाँच्न सिसडोल र बञ्चरेडाँडाबासी कै भाग्यमा लेखिएको छ । त्यसमाथि महानगरपालिकाले एक साता नउठाएको फोहर बिहीबारदेखि मात्रै उठाउन थालेको छ । जसले गर्दा एक सातासम्म काठमाडौँका बासिन्दाले घरभित्रै फोहरको दुर्गन्ध सुँघेर बस्नु पर्यो ।
अहिले जनचेतना जगाउने काम मात्रै भइरहेको विभागीय प्रमुख राईले बताइन् । महानगर एक्लैले जनचेतना फैलाउने काम महँगो भएकाले मिडिया र सामुदायिक संस्थाको सहयोग लिएको छ । साथै जनचेतना र्यालीसमेत सञ्चालन गरिरहेको उनले बताइन् । काठमाडौँ महानगरपालिकाले वडा कार्यालयहरूको सहयोग समेत लिएको छ ।
फोहर व्यवस्थापनको विषयमा सबैको ध्यान केन्द्रित भइरहेको छ । उता फोहर व्यवस्थापनका लागि अन्य पालिकाले प्रयोगमा ल्याएका विधिबारे पनि काठमाडौँ अनभिज्ञ भने छैन । तर, फोहरबाट मोहर बनाउने विधिमा हात हाल्न काठमाडौँले कन्जुस्याइँ गरिरहेको छ । तर किन? जवाफ सहजै भेटिँदैन ।
कुहिने फोहरको यस्ता छन्, व्यवस्थापन विधि
चाँडै सड्ने र दुर्गन्ध आउने भएकाले कुहिने फोहरको व्यवस्थापन ठुलो चुनौती बन्दै गएको छ । फोहर बिसर्जन गरिएको ठाउँ दुर्गन्धित बन्नुको प्रमुख कारक पनि कुहिने फोहर नै हो ।
तर, यही कुहिने फोहरलाई आयआर्जनको माध्यम बनाउन सकिन्छ । काठमाडौँ महानगरपालिकालाई यो पनि थाहा छ ।
फोहरबाट कम्पोस्ट मल बनाउँदा व्यवस्थापनमा लाग्ने खर्चको बचत मात्रै हुँदैन, उल्टै आम्दानी समेत गर्न सकिन्छ । हरेक वर्ष मलको अभाव झेलिरहेका किसानलाई राहतमा मल वितरण गर्न सकिन्छ ।
मल बनाउँदा आउने दुर्गन्धबाट सबैभन्दा बढी सास्ती मजदुर र स्थानीयबासीले व्यहोर्नु पर्ने हुन्छ । तर, अहिले यसको पनि समाधान भेटिएको छ, जापानी प्रविधि सिएनबिएम प्रविधिबाट बन्ने रिकिसी कम्पोस्ट मल ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको रिकिसी कम्पोस्ट प्रालिले सन् २०१८ देखि नै कुहिने फोहरबाट मल बनाउँदै आएको छ । प्राकृतिक विधिबाट तयार पारिने यो मल उत्पादन र प्रयोगका बेलामा समेत गन्ध आउँदैन । मल उत्पादकको दाबीलाई मान्ने हो भने अन्य मलको तुलनामा बोटबिरुवाका लागि हानिरहित पनि छ ।
कार्बन, नाइट्रोजन, ब्याक्टेरिया, मिनर ग्यासमा कुहिने फोहोरलाई मिसाएर कम्पोस्ट मल बनाउने प्रक्रिया हो, सिएनबिएम प्रविधि । यस्ता ग्यासले दुर्गन्ध आउन त दिँदैन नै फोहरलाई छोटो समयमा मल बन्न समेत सहयोग गर्छ ।
यो प्रविधिमा फोहोर बनाउने ठाउँलाई ताइसा भनिन्छ । यहाँ मेसिनको सट्टा मानवीय जनशक्तिको प्रयोग सकेसम्म बढी गरिन्छ ।
‘फोहरमा दुर्गन्ध नआउने भएकाले अहिलेसम्म मजदुर यसैको कारण बिरामी भएका छैनन्,’ रिकिसी कम्पोस्ट प्रालिकी निर्देशक उषा गिरीको दाबी छ ।
यो कम्पनीले मध्यपुर ठिमी नगरपालिकाको वडा ४ र ५ को कुहिने फोहर संकलन र व्यवस्थापन गर्दै आएको छ । घरघरमा फोहोर व्यवस्थापनका लागि बाल्टिन राखिएका छन् । मलमा तरल पदार्थको मिसावटपछि नै गन्ध आने गर्छ । त्यसैले बाल्टिनमा जाली पनि राखिएको हुन्छ, फोहरबाट तरल पदार्थ छान्नको लागि ।
यहाँ हरेक साताको मंगलबार नगरपालिकाको गाडीले नै फोहर उठाउँछ । तर एक सातासम्म घरमा फोहोर राख्दा समेत दुर्गन्ध फैलिँदैन । किनकि कम्पनीले नै हरेक साता घर घरमा कुहिने फोहरमा राख्नुपर्ने टोकोजाइ उपलब्ध गराउँछ ।
बाल्टिनको सबैभन्दा तल्लो तहमा टोकोजाइ राखिन्छ । त्यसमाथि कुहिने फोहर राखेर फेरी टोकोजाइ हालिन्छ । टोकोजाइ हाम्रै वरिपरि पाइने प्राकृतिक सामाग्रीबाट तयार हुन्छ । भुसमा कार्बन, ढुटोमा नाइट्रोजन, पतिङ्गरमा ब्याक्टेरिया र रातोमाटोमा मिनर पाइन्छ । यिनीहरूकै मिश्रणबाट टोकोजाइ तयार हुन १० देखि १५ दिन मात्रै लाग्छ ।
फोहर संकलन गरेर कारखानामा ल्याएपछि टहरोमा थुपारिन्छ । तर, मल बनाउँदा फोहरको तापक्रम भने ६० डिग्री सेल्सियसभन्दा कम हुनु हुँदैन । हरेक साता फोहरलाई पल्टाएर नयाँ ठाउँमा सारिन्छ र ३ महिनामा खेतबारीमा प्रयोग गर्न लायक बनाइन्छ ।
फोहर व्यवस्थापन र मल उत्पादन सुरु गर्दा स्थानीयलाई घरमा फोहर कसरी छुट्याउने भनेर सिकाउनै झन्डै २ महिना लागेको गिरीको अनुभव छ ।
काठमाडौँ नगरपालिकाको टोलीले पनि यो कारखानाको भ्रमण गरिसकेको छ । तर यो प्रविधिको प्रयोग गर्ने वा नगर्ने केही निर्णय गर्न सकेको छैन । किनकि काठमाडौँमा संकलन हुने फोहरको मात्रा रिकिसी कम्पोस्ट प्रालिले संकलन गर्ने भन्दा निकै धेरै हुन्छ ।
कसैले चाहेको खण्डमा मल उत्पादन विधि र टोकोजाइको उपलब्ध गराउन सक्ने दाबी सो कम्पनीको छ । यो मल बनाउन आवश्यक पर्ने खुला ठाउँ खोज्न समेत काठमाडौँ महानगरपालिकाको टाउको दुखाइ बन्न सक्छ ।
पुनः प्रशोधन नै उत्तम विकल्प
काठमाडौँमा उत्पादन हुने मध्ये ७० प्रतिशत फोहरबाट मल उत्पादन गर्न सकिन्छ । उता बाँकी ३० प्रतिशत फोहर पनि फेरि प्रयोग गर्न मिल्ने खालका हुन्छन् । जसमा कागज, प्लास्टिकका झोला, सिसा, बिग्रिएका मेशिन, बिजुलीका तार, फलामका टुक्रा आदी पर्छन् । यस्ता फोहरलाई पुनः प्रशोधन गरेर प्रयोगमा ल्याउन सकिन्छ ।
हालसम्म दर्ता भएर सञ्चालनमा आएका निजी क्षेत्रका रिसाइक्लिङ कम्पनीको यकिन तथ्याङ्क काठमाडौँ महानगरपालिकासँग पनि छैन । काठमाडौँ महानगरपालिकामा अति नै न्यून संख्यामा रिसाइक्लिङ कम्पनी दर्ता भएको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।
भक्तपुरको सानो ठिमीमा डोको रिसाइक्लर्स कम्पनी छ । यो कम्पनीले विभिन्न घर, कम्पनीमा उत्पादन भएका पुनः प्रशोधन गर्न मिल्ने फोहर खरिद नै गर्छ । खरिद गरेको फोहरलाई फेरि प्रयोग गर्न योग्य बनाउँछ । आफैले प्रशोधन गर्न नसकेको वस्तु अन्य कम्पनीलाई बेच्छ ।
डोको रिसाइक्लर्सका ग्रुप मेनेजर दिपक अर्याल नागरिकमा फोहर व्यवस्थापन सम्बन्धी सोचमा परिवर्तन आएको खण्डमा व्यवस्थापन सहज र सम्भव रहेको बताउँछन् ।
डोकोले आफूले फोहर उठाउने क्षेत्रमा व्यवस्थापन गर्न समेत सिकाउँछ । भौतिक रूपमा सम्भव नभएको क्षेत्रका लागि अनलाइनबाट पनि ‘वेस्ट सेग्रिगेसन’ अर्थात् फोहर छुट्याउने तालिम दिन्छ ।
काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर काम गर्ने चाहना डोकोको पनि छ । निजी संस्थाहरू फोहर व्यवस्थापन गर्न सरकारको तर्फबाट सहयोग र करमा सहुलियत भने चाहन्छन् ।
रिसाइक्लिङ गर्ने मेसिन भारत लगायत अन्य मुलुकबाट ल्याउनु पर्छ । मेसिनले गर्दा कारखाना स्थापना गर्न नै महँगो पर्छ । तर,फोहरबाट प्रशोधन गरिएका कच्चा पदार्थबाट भने राम्रो आम्दानी गर्न सकिने सम्बन्धित व्यक्तिहरू बताउँछन् ।
‘रिसाइक्लिङ सेन्टरमा पुनः प्रशोधन गर्न नमिल्ने फोहर पनि आउँछन् । डोकोले यस्ता फोहोरलाई आफैले डम्पिङ साइटमा पुर्याउँदै आएको छ,’अर्याल भन्छन् ।
रिसाइक्लिङ नाफामूलक फोहर व्यवस्थापनको विधि हो । घरको फोहर बेचेर पैसा कमाउन सकिन्छ भन्ने चेतना जनसमुदायसम्म पुगेको खण्डमा फोहर व्यवस्थापन केही हदसम्म सहज पनि बन्छ । तर, काठमाडौँलाई वास्तव मै दुर्गन्धरहित सहर बनाउने हो भने महानगरपालिकाले दीर्घकालीन रुपमा फोहरको व्यवस्थापनमा अगाडि बढ्नुपर्ने अवस्था आइसकेको छ । अन्यथा बालेन्द्र साहको कार्यकाल समेत विगतमा अन्य मेयर झैँ फोहरको राजनीतिमा अल्झेरै सकिने छ ।