close

विद्यालयस्तरबाट आपराधिक घटना न्यूनीकरणका कार्यक्रम गर्दै दोर्दी

विद्यालयस्तरबाट आपराधिक घटना न्यूनीकरणका कार्यक्रम गर्दै दोर्दी

Trulli
ADVERTISEMENT

लमजुङ– विद्यालयस्तरबाट आपराधिक घटना न्यूनीकरणका विषय सिकाउन दोर्दी गाउँपालिकाले त्रिपक्षीय साझेदारी गरेको छ । यसका लागि गाउँपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रहरी र विद्यालय प्रधानाध्यापकसँगको त्रिपक्षीय समझदारी पत्रमा  हस्ताक्षर गरेको हो । 

पछिल्लो समय आपराधिक घटना बढ्दै गएकाले घटनाको न्यूनीकरण गर्ने उद्देश्यले त्रिपक्षीय समझदारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । उनले भने, ‘आत्महत्या, घाँस काट्दा भीरबाट खजेर, पानीमा डुबेर, जङ्गली जनावरको शिकार भएर मृत्यु भइरहेको हुन्छ । कुटपिट, दुव्र्यवहार, बलात्कार जस्ता आपराधिक घटनाहरु छन् ।’ 

कार्यक्रममा पछिल्लो चार वर्षका त्यस्ता घटनाको समीक्षा गरेर त्यस्ता घटनाको दर कति छन् जस्ता विषयमा जानकारीमूलक अभिमुखीकरण कक्षासमेत सञ्चालन भएको उनले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयले आपराधिक घटनाको न्युनिकरण गर्न ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०’ पुस्तक निकालेको छ । पालिकास्तरका विद्यालयबाट विद्यार्थीलाई सो पुस्तकका कुरा सिकाएर त्यस्ता घटनाको न्यूनीकरण गर्ने समझदारी भएको उनले बताए । 

गाउँपालिकाभित्र आठ वटा माध्यमिक विद्यालय छन् । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई सो पुस्तकका कुरा सिकाउन माध्यमिक तहका प्रधानाध्यापक, गाउँपालिका र जिल्ला प्रहरी कार्यालयबिच सम्झौता भएको उनले जानकरी दिए । सम्झौताअनुसार विद्यार्थीहरुको समय समयमा कक्षा लिने, अभिमुखिकरण गर्ने, विज्ञसँग छलफल गर्ने उनले बताए ।  

सो पुस्तकलाई माध्यमिक तहमा विद्यार्थीहरुलाई अनिवार्य विषयका रुपमा पढाउने योजना रहेको उनले बताए । शुक्रबार भएको समझदारी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छ बहादुर घले,प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, प्रधानाध्यापकलयागतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।