close

क्वारेन्टाइनको विकल्प खोज्नुपर्छ 

विद्यार्थीको बिजोग

क्वारेन्टाइनको विकल्प खोज्नुपर्छ 

विद्यार्थीको बिजोग

Trulli
ADVERTISEMENT

नवलबहादुर मल्लः अध्यक्ष, गन्यापधुरा गाउँपालिका

नानीबाबुहरू पढ्ने विद्यालयलाई क्वारेन्टाइन बनाउनुपर्ने बाध्यताका कारण विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव परेको छ । वैशाखदेखि सुरु हुने शैक्षिक सत्रलाई कोरोनाको महामारीले तहसनहस बनाएको छ । विद्यालयमै क्वारेन्टाइन हुँदा विद्यार्थी पनि डराउनुपर्ने अवस्था छ । 

यस्तो अवस्थामा पालिकाका शिक्षकहरूले घरघरमै गएर निरन्तर पढाउने काम चलिरहेको छ । हामीले विद्यार्थीहरूलाई घरघरमा पाठ्यपुस्तक पठाउने काम गरिरहेका छौं । हामीले सुरु गरेको रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुँदाहुँदै पनि सबैको पहुँचमा नपुग्ने देखिएपछि नजिकै रहेका शिक्षकहरूले त्यसको व्यवस्था गरिदिने वातावरण मिलाएका छौं । 

अभिभावकहरूमा पनि केही कमजोरी देखिन्छ । आफ्ना बालबालिकालाई पढाइमा भन्दा घरका काममा बढी लगाउने गरेको देखिन्छ । यसले गर्दा पालिकाले गरेको प्रयत्न त्यति प्रभावकारी नभएको हुन सक्छ ।  

हामी विद्यालय सञ्चालन गर्ने तयारीमा पुगिसकेका थियौं । तर, हाम्रो पालिकामा कोरोना संक्रमण दर बढिरहेको र क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मिल्ने उपयुक्त अर्को कुनै स्थान नभएकाले विद्यालयलाई नै क्वारेन्टाइन बनाउन बाध्य छौं । केन्द्र सरकारले पनि विद्यालयलाई सकेसम्म क्वारेन्टाइन नबनाउन निर्देशन दिएकाले अब चाँडै त्यसको विकल्प खोजेर पढाइ सञ्चालन गर्ने वातावरण निर्माण गर्नेछौं । 

विद्यार्थीलाई स्वअध्ययन सामग्री दिउँ

सुरेन्द्र कार्कीः प्रधानाध्यापक, गणेश माध्यमिक विद्यालय 

गाउँपालिकाले सबै प्रधानाध्यापकहरूलाई बोलाएर शैक्षिक गतिविधि कसरी अगाड बढाउने भन्ने विषयमा निरन्तर छलफल भइरहेको छ । अहिले पालिकाले रेडियोमार्फत पढाउने काम गरिरहेको छ । 

यो समय विद्यालय एक्लैले मात्र सबै काम  नसक्ने भएकाले हामीले अभिभावक, विद्यार्थी सबैलाई जिम्मेवार बनाउने कोसिस गरिरहेका छौं । विद्यालय स्तरबाट गाउँघरमै पुगेर अभिभावसँग छलफल गरी आफ्ना बालबालिकाका लागि कम्तीमा दिनको २ घन्टा समय दिन आग्रह गरिरहेका छौं । 

हामीले विद्यार्थीका लागि स्वअध्ययन सामग्रीहरू वितरण गरिरहेका छौं । पुराना विद्यार्थीसँग भएका किताब वितरणको  काम पनि भइरहेका छन् । पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्न थालेपछि विद्यालय खोल्ने विषयमा मतमतान्तर हुन थालको छ ।

विद्यालय खोलिहाल्ने र विद्यार्थीमै कोरोनाको संक्रमण देखा पर्न थाल्यो भने त्यसको जिम्मा कसले लिने ? यस विषयमा हाम्रा शिक्षक साथीहरू पनि डराइरहनु भएको छ । अतः विद्यार्थीलाई विद्यालय आउन सहज वातावरण बनाउने र शिक्षकहरूलाई पनि सहज रुपमा कसरी विद्यालयमै पढाउने व्यवस्था गर्न सकिन्न भन्ने सम्बन्धमा पालिका स्तरमा छलफल चलाइरहेका छौं ।

विद्यार्थीलाई अहिले नपढाउने हो भने कहिले पढाउने ? पढाइ सुुरु गर्दा कतै भयावह अवस्था आए कसले जिम्मा लिने ? यी समस्या त छँदै छन् । विद्यार्थीहरूलाई विद्यालय हाताभित्रै पठनपाठन गराउन सकिए वैशाखदेखि अवरुद्ध शैक्षिक सत्रको क्यालेन्डर मिलाउन खासै गाह्रो छैन । कोरोना संक्रमण कहिले हट्छ भन्ने अझैसम्म निक्र्योल भइनसकेको अवस्थामा क्वारेन्टाइन बनाइएका सामुदायिक विद्यालयहरूलाई कसरी खालि गराउने भन्ने कुरो पनि महत्वपूर्ण पक्ष हो । त्यसका लागि हामीले पालिका प्रशासनसँग यस विषयमा कुरा राखिरहेका छौं ।