close

नेताहरूको भाइटीका लगाउने आफ्नै तरिका, निर्वाचन सम्मुखमा महत्त्वका साथ हेरिँदै

नेताहरूको भाइटीका लगाउने आफ्नै तरिका, निर्वाचन सम्मुखमा महत्त्वका साथ हेरिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालका अधिकांश राजनीतिक दलका नेताहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको भाइटीकाको साइतमै टिका लगाएका छन् । उनीहरूले बिहीबार भाइटीका लगाएका हुन् । तर, नेताअनुसार रङ्गको सङ्ख्या फरक-फरक छन् । सामाजिक सञ्जालमा देखिएका तस्बिरअनुसार उनीहरूले पाँच रङ्गदेखि नौ रङ्गसम्म लगाएका छन् । निर्वाचन नजिकिँदै गरेको अवस्थामा यसलाई निकै महत्त्वका साथ हेरिएको छ । 

स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दिदीको हातबाट नौ रङ्गका भाइटीका लगाएका छन् । अधिकांशले सेतो पृष्ठभूमिमा टीका लगाउँछन् तर उनले पहेँलो पृष्ठभूमिमा लगाएका छन् । तस्बिरअनुसार क्रमशः माथिबाट तल रातो, हरियो, पहेँलो, निलो, गुलाफी, सेतो, सुन्तला र बैजनी रङ गरी नौ रङ्गको टीका लगाएका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच रङ्गमात्र लगाएका छन् । उनले तीनजना दिदीबहिनीको हातबाट टिका ग्रहण गरे । उनको निधारमा सेतो पृष्ठभूमिमा सबैभन्दा माथि गुलाफी र त्यसपछि क्रमशः हरियो, नीलो र रातो रङ लगाएको तस्बिरमा देख्न सकिन्छ ।

यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सात रङ्गको भाइटीका लगाएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरअनुसार सबैभन्दा माथि रातो र त्यसपछि क्रमशः पहेँलो, बैजनी, सुन्तला, हरियो गुलाफी र नीलो रङको टिका लगाएका छन् ।  

तिहारपछि भाइटीका र सप्तरङ्गीले सजिएका तस्बिरले सामाजिक सञ्जाललाई छपक्कै छोपेको छ । तर, सबै जनाले लगाउने टिकामा भने एकरुपता छैनन् । कसैले पञ्चरङ्गी टीका लगाएका छन् भने कसैले सप्तरङ्गी त कसैले नौरङ्गी टीका लगाएका छन् । 

नेताहरूले लगाएको टीकालाई महत्त्वका साथ हेरिएको छ भने ज्योतिषीकै सल्लाहमा लगाएका हुन् भन्दै सामाजिक सञ्जालमै यसबारे बहस भइरहेको छ । ‘नोनटएगेन’ अभियान चलिरहेको र शीर्ष नेताहरू हार्दैनन् भन्ने एकथरिको चर्चाको बीचमा टीका र रङ्गको मात्राले प्रवेश पाएको हो ।  

रङ्ग मिलान पनि एकरुपता छैन । सबै जनाले फरक-फरक र आफ्नै तरिकाले टीका लगाएको विषयमा पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराईलाई भाइटीकामा रङ्ग मिलानको महत्त्वबारे बुझ्दा विभिन्न रङको टीका लगाउने परम्परा भए पनि कति र कुन-कुन रङ मिलाएर लगाउने भन्ने नियम नभएको बताए ।

‘रङलाई आकर्षक देखाउनको लागि गाढा र फिक्का रङहरूलाई मिलाएर लगाइन्छ, कुन रङ कसरी लगाउनुपर्ने भन्ने कुनै पनि नियम छैन छैन ।’ उनले पालिका खबरसँग भने । ‘सप्तरङ्गी टीका भनिए पनि ५ रङ्गदेखि ९ रङ्गसम्म लगाउने परम्परा छ ।’ 

अध्यक्ष भट्टराईकाअनुसार टीका ठाडो नै लगाउनुपर्छ भन्ने छैन तर, ठाडो टीका लगाउन सजिलो भएकाले निधारमा ठाडो टीका लगाउने गरिएको हो । आफूले चाहेको रङ र तरिकाले भाइटीका लगाउन सकिने उनको भनाइ छ ।