काठमाडाैं - भदौ १६ गते शनिबार काठमाडौं महानगरका मेयर बालेन साह पत्नी सबार सरकारी गाडी ट्राफिक प्रहरीद्वारा चेकजाँचपछिको प्रतिक्रियास्वरुप मेयर बालेनको स्ट्याटसले यतिबेला अनेक कोणका तर्क र कुतर्कहरू जन्माएका छन् ।
एकाथरीले बालेनलाई उन्माद चढेको बताइरहेका छन् । उनीहरूको प्रतिक्रिया छ, बालेन बौलाउन लागे । कुनै एउटा घटना केन्द्रित भएर समग्र व्यक्तिको मूल्याङ्कन वास्तवमै गलत हुनसक्छ ।
सवारी चेकजाँच गर्ने काम ट्राफिक प्रहरीको हो । र, सरकारी गाडी बिदाको दिन चलाउँदा वा तोकिएको क्षेत्रबाहिर जाँदा जिल्ला प्रशासनबाट अनिवार्य पास बनाउनुपर्ने हुन्छ । शनिबारको घटना पनि त्यस्तै हो, पास बिना सवारी लिएर हिँड्नु कानुनतः गलत हो तर, के यो मात्रै घट्नाले बालेनले यस्तो कडा स्ट्याटस लेखेका हुन त ? उनले ‘सिंहदरबारमा आगो लगाइदिने’ चेतावनी किन दिए ? सरकारकालाई ‘चोर सरकार’ को संज्ञा किन दिए ? यो भाषा र शैली सही हो त ? यिनै प्रश्नहरू चर्चामा छन् ।
सिंहदरबार भनेको भूगोलको एउटा कुनो मात्रै होइन । सिंहदरबार शासनको एउटा मानक रहँदै आएको छ । मुलुकको दशा र दिशा बदल्न सक्ने तागत राख्ने सिंहदरबारलाई चुनौती दिने हिम्मत जो कोहीको भएन । सिंहदरबार नजिकै बसेका बालेनको यो आक्रोशबाट मुलुकको शासन प्रणाली र संरचनामा रहेका प्रशस्त असन्तुष्टिसँगै पेलाईको पराकाष्ठालाई मापन गर्न सकिन्छ ।
मुलुक संघीयतामा गएपछि स्रोत, अधिकार र सामर्थ्य पनि तल्लो तहसम्म पुगेको कुरा सिंहदरबार अझै आत्मसात् गर्न तयार छैन । विगत एक वर्षमा मेयर बालेनले त्यस्ता अनेक जटिलता झेले । जुन आफ्नै अधिकार पनि उनले उपयोग गर्न पाएनन् । प्रशासनिक काम गर्दा होस् वा विकास निर्माणका प्रयास थाल्दा होस् उनले सिंहदरबारबाट अवरोध र असहयोग मात्रै पाए । अझ, राष्ट्रियताको मुद्दामा आफ्नै क्षेत्राधिकारभित्रका सिनेमा हललाई नियमन गर्न खोज्दा उनले अदालतबाट पनि सहयोग पाएनन् । बरु उल्टै उनीमाथि कानूनको दफा खन्याइयो । त्यसैले ती सयौं पीडाको समग्र रूप नै यो आक्रोश हो भन्न सकिन्छ ।
नत्र सिंहदरबार र सरकारप्रति यति धेरै आक्रोशित हुनुपर्ने उनको त्यस्तो व्यक्तिगत कारण नै के होला र ? सरकार, अदालत, प्रशासन क्षेत्रमा देखिएका विकृत रूपलाई अरूले जस्तै ट्वाल्ल परेर हेरिरहन बालेनले सकेनन् । अरू मेयरले पनि यो भन्दा तल्लो स्तरको गाली गरिरहेका छन् तर मनमनै । ति सबै गाली उनीहरू मनमै राख्छन्, बालेनले लेखिदिए, फरक यत्ति हो ।
बालेनले यति कडा चाहिँ नलेखिदिएको भए हुन्थ्यो भन्ने थुप्रै प्रतिक्रियाहरू आएका छन् । ती प्रतिक्रिया दिनेहरू बालेनको कुर्सीमा बस्ने हो भने यो भन्दा पनि कडा प्रतिक्रिया दिन सोच्थे, गुन्थे तर सायद मनमै राखेर पिल्सिएर बस्थे ।
ठूला अस्त्र, समर्थन, सेना भएर कोही पनि शक्तिशाली हुँदैन, शक्तिशाली त त्यो व्यक्ति हो, जोसँग कुनै व्यक्तिगत स्वार्थ हुँदैन र मृत्युदेखि डर हुँदैन । त्यसैले बालेन काम गर्न, मात्रै काम गर्न आएको एउटा नयाँ पुस्ताको आशा लाग्दो नेतृत्व हो, उसलाई प्रत्येक ठाउँबाट सबैले सहयोग र सद्भाव राखेर हेरौं । सकेनन् भने बालेनले जस्तै निर्मम गाली गरौं । तर, काम गर्न दिऊँ ।
कानून अनुशासन हो । कानून विधि हो । सकारात्मक सोच राखेर काम गर्दा आइपर्ने व्यवधान फुकाउने खालको कानून हुनुपर्छ, बन्नुपर्छ । तब मात्र कानूनको सम्मान हुन्छ । बालेन अर्थात् नयाँ पुस्ता, जसलाई असफल हुने छुट छैन । सिंहदरबार र सरकार उनीहरूलाई सहज वातावरण बनाउन लाग्नुको सट्टा अवरोध सिर्जना गर्नतिर लाग्यो भने नयाँ पुस्ताले गर्न सक्ने निर्मम हस्तक्षेपले मुलुक गम्भीर मोडमा पुग्ने खतरा बढ्न सक्छ ।
बालेन नयाँ पुस्ताको मानक हो । उनले पनि आफूलाई त्यही अनुसार गम्भीर रूपमा मनन गर्नुपर्दछ । बालेनसँग भएको परिवर्तनप्रतिको हुटहुटी त्यति सजिलो छैन । किनकि दलाल, अवसरवाद, चाकडीवादमा फसेको नेतृत्वसँग काम गर्न आफू चनाखो बन्नुको विकल्प छैन ।
कुनै पनि व्यवस्था खराब हुँदैन । व्यवस्थालाई खराब बनाउने विशेष तत्त्व हुन्छ, त्यो पहिचान गर्नुपर्छ । यही काम गर्न नसकेका जनप्रतिनिधिका लागि बालेन एउटा सन्देश हुन सक्छन् । दह्रोसँग राज गरेको पुरातन सोचका कर्मचारीका कारण जनप्रतिनिधि निरीह बनेका छन् । त्यस्ता कर्मचारीको पहिचान गर्दै राम्रा, असल र सहयोगी कर्मचारीको मनोबल उच्च बनाउँदै साथमा लिएर काम गर्न जनप्रतिनिधिमा पनि चेत फर्कनुपर्छ ।
बालेनबाट सिंहदरबार र सरकारप्रति यति बिघ्न आक्रोश निस्कनुका पछाडि नेताको मात्रै भूमिका छैन । यसमा कर्मचारीतन्त्रको पनि उत्तिकै योगदान छ । नेतालाई सराप्ने दिन आउनुका पछाडि तिनै नेताले सम्हाल्न र परिचालन गर्न बिराएको कर्मचारीतन्त्र हो भनेर ति नेताहरूले कहिले बुझ्ने ? प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर, अध्यक्षहरूबाटै बेलाबेलामा आउने भनाइबाट यो कुरालाई पुष्टि गरिसकेको छ ।
बालेन एउटा होइन, बालेन नयाँ पुस्ताको विद्रोहको झिल्को हो भन्ने बुझेर त्यसअनुरूप असल नियतका साथ काम गरेर देखाउनु नै अहिलेका राजनीतिक दलका नेताहरूको बुद्धिमानी हुन्छ । अन्यथा, ... पशुपतिनाथले कल्याण गरुन् ।