close

हरितालिका तिज : विगत र वर्तमान

हरितालिका तिज : विगत र वर्तमान

Trulli
ADVERTISEMENT

मन, वचन र कर्ममा शुद्धता प्राप्त होस् । मैले गरेका कुनै पनि काम वा बोलीले अरूको मन नदुखोस् भन्ने हेतुले गरिने दृढ  सङ्कल्पलाई नै व्रत भनिन्छ । व्रतले  मानव मन र मस्तिष्कमा सकारात्मक ऊर्जा प्रदान गर्दछ । 

हरितालिका व्रत पनि  योग र तपस्याका माध्यमबाट सिद्धि प्राप्त गर्ने साधना हो । भक्तहरूको दुःख नाश गर्ने  कल्याणकारी तत्त्वलाई हरि भनिन्छ र जसको हातबाट प्रतिबद्धता वा प्रतिष्ठा गरिन्छ; त्यसलाई तालिका भनिन्छ । अर्थात् हरितालिकाको अर्थ अन्धकारलाई नाश गर्ने क्षमता भएको ईश्वरीय तत्त्व प्राप्ति हो । हरियो रङ्गको प्रचुरतालाई पनि हरितालिका भनिन्छ । यो पर्व प्राय: भदौ असोज महिनामा पर्ने भएकाले वर्षा ऋतुको प्रभावले प्रकृतिमा पुष्टता र वनस्पतिमा हरियो रङ्गको प्राकृतिक स्वरूपको प्रदर्शन हुनुलाई पनि हरितालिका भनिन्छ । 

हिमालयले छोरी पार्वतीको विवाह विष्णु भगवानसँग गर्न खोज्दा पार्वतीदेवीले साथीहरूको सहयोगमा जङ्गलमा गई लुकेर कठोर तपस्या सम्पन्न गरी भाद्र शुक्ल तृतीया तिथिका दिन महापुरूष, सर्वकल्याणकारी, सर्वशक्तिमान् शिव भगवानलाई प्राप्त गर्न सफल भएकी हुनाले हरितालिका नाम रहन गएको हो ।  पार्वती जस्ती  तपस्वी नारीको कठोर साधना पूर्ण भएको त्यो पवित्र दिनलाई  सम्पूर्ण नारी जातिकै गौरवको दिन मानेर पर्वको रूपमा व्रत लिने प्रचलनको प्रारम्भ भएको हो भन्ने पुराणहरूमा कथा पाइन्छ । तृतीयाको दिन मनाइने पर्व भएकाले जनबोलीमा यसलाई तीज पर्व पनि भन्ने गरिन्छ । ज्योतिषशास्त्र अनुसार शुक्लपक्षलाई शुभ पक्ष र तृतीया तिथिलाई विजय प्रदान गर्ने तिथिको रूपमा हेरिन्छ । त्यसैले हरितालिका तिजलाई  सिद्धि प्रदायक तिथि मानिन्छ ।  

यो व्रत अत्यन्त कठोर नियममा रहेर जल समेत नखाईकन लिनुपर्छ भन्ने विश्वास छ । यो व्रत अत्यन्त कठिन भएता पनि नारी सहभागिता अत्यधिक देखिन्छ । नारीको योगदानको उच्च मूल्याङ्कन गर्दै हिन्दूधर्मका प्राचीन ग्रन्थहरूमा नारीलाई आमा, जननी, माता, पुत्री, श्रीमती जस्ता विशिष्ट शब्दहरूद्वारा सम्मान गरिएका छन् । निर्मात्रीका रूपमा माता, सन्तान उत्पादन गर्ने क्षमताका कारण जननी, श्रीसम्पत्तिकी अधिष्ठात्रीको रूपमा श्रीमती जस्ता शब्द सम्मानले नारीको समाजमा विशिष्ट पहिचान गराइएको देखिन्छ । परिवार, समाज र देश बनाउने काममा नारीको विशेष भूमिका र महत्त्व रहेको देखिन्छ । 

प्राचीन समयमा कठोर तपस्या गर्ने पार्वती तपस्वी नारी थिइन् त्यस्ती नारीसँग विवाह गरेका कारणले नै शिवजीले सम्पूर्ण जगतका मालिक जगदीशको पदवी पाएका थिए भने, विष्णु भगवान् अत्यन्त धनी हुनुमा परिश्रमी लक्ष्मीको साथ र परिश्रम नै हो भन्ने कुरा पुराणहरूमा उल्लेख गरिएका छन् । नारीले जन्म घर छोडेर कर्मघर जानु पर्ने, विभिन्न सृष्टि सृजनाहरू गर्नुपर्ने अनेकौँ सामाजिक वध्यताहरूसँग सङ्घर्ष गर्दै आत्मीय भावहरु जोडेर अर्को परिवारमा संस्कार, सभ्यता र संस्कृति भर्दै सुव्यवस्थित परिवारको निर्माण गर्नुपर्ने सामाजिक परम्परालाई स्वीकार गरेर विशिष्ट योगदान दिएको देखिन्छ । व्रत र चाडपर्वहरूमा नारी सहभागिता अत्यधिक हुनुको  पछाडि नारीमा कठिनाइ सहन गर्ने क्षमता, दृढता, सहनशीलता र सामर्थ्य पुरुषमा भन्दा अधिक हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले पनि पुष्टि गरिसकेको छ । त्यसैले समाजमा विद्यमान हरेक व्रत वा उपवास नारी केन्द्रित बन्नुको पछाडि पनि नारीको यही विशिष्ट क्षमता नै मान्न सकिन्छ । 

यो पर्व जातजाति वा  भाषाभाषी केन्द्रित नभएर योग र साधना, दान र देवताको स्मरण, ऋषि पूजनजस्ता धार्मिक कृत्यसँग जोडिएको, शरीरलाई पुष्टता प्रदान गर्ने भोजन र स्नानको महत्त्व, अपमार्ग जस्ता प्राकृतिक जडीबुटीको प्रयोग, मित्रमिलन, पारिवारिक सद्भाव, सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रयोग, जस्ता अनेक  सद्भावहरू बोकेको, आध्यात्मिक,बौद्धिक र मनोरञ्जनात्मक पर्व भएको कारण  प्राचीनकाल देखि आजसम्म पनि  समाजमा मौलाइरहेको मान्न सकिन्छ । 

तिज पर्व मनाउने विषयमा प्राचीन र आधुनिक समयमा निकै भिन्नता रहेको देखिन्छ । यसो हुनाको कारणबारे मेरो धारणा यस्तो रहेको छ । हाम्रो देश भौगोलिक विविधताले भरिएको हिमाली र पहाडी भूभागहरूको बाहुल्य भएको र प्राचीन समयमा यातायातका साधनहरूको असुविधा, औषधि उपचारको अभाव, बाटोघाटोको असहज परिस्थिति, बालविवाह प्रथा, शिक्षाबाट बन्चित समाज जस्ता अनेकौं समस्याहरूबाट प्रताडित भएको प्राचीन समाज थियो । 

पुरुषवादी समाजको दबदबा, कलिलो उमेरमा सन्तान जन्माउनुपर्ने बाध्यता, घर परिवारमा गृहिणीका रूपमा मात्र सीमित रहनु पर्ने बाध्यता, खानका लागि प्रशस्त अन्न नहुनु, अन्न उत्पादनका लागि प्रशस्त मेहनत गर्नुपर्ने बाध्यता हुनु, श्रीमानहरू अध्ययनका लागि विदेशिएका हुनु, नारीले पतिको सहयोग नपाउनु, सन्तान र सासु ससुरासँग निराश भएर जीवन बिताउनु पर्ने बाध्यता हुनु, माइतीसँग चाँडै भेटघाट नहुनु आदि प्राचीन समयका नारीका विशेष समस्याहरू थिए ।  बाल्यावस्थामा पराई घर गएर घरको काम गरेर थाकेकी र अनेकौं कठिनाइहरूको सामना गरिरहेकी छोरी चेलीलाई केही दिन भए पनि माइतमा ल्याएर पौष्टिक आहारहरू खुवाउने ,नाचगान गराइ मनोरञ्जन गराउने, दुःखका कथा व्यथालाई लोकगीतका माध्यमबाट साटासाट गर्ने र जडीबुटीहरूको प्रयोग गरेर स्वास्थ्य लाभ गर्नु आदि यस पर्वका मूलभूत उद्देश्यहरू थिए  । 

तर,आधुनिक समाज विकसित भइसकेको छ । यातायातको प्रशस्त सुविधा हुनु, खानेकुरा पर्याप्त हुनु, आर्थिक अभाव नहुनु, शिक्षामा सबैको पहुँच हुनु, देश समृद्धितिर अग्रसर हुनु, देश सञ्चालन गर्ने जिम्मेवारी पदमा नारीको भूमिकामा रहनु, नारीको समाजमा सम्मान र प्रतिष्ठा हुनु, नारी आवाजहरू सुनिन थालिनु, नारीलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आदि वर्तमान समयका नारीका उपलब्धिहरू मान्न सकिन्छ । 

शिक्षा,स्वास्थ्य, सामाजिक चेतना र  सकारात्मक सोचले गर्दा आजको तिज पर्व र विगतको तिज पर्व मनाउने तरिकामा भिन्नता आउनु स्वाभाविकै हो । आज तिज मनाउँदा खोलामा गएर स्नान गर्नुको सट्टा सफा जलले घरमै स्नान गर्ने प्रचलन बढेको देखिन्छ, प्रति दिन दन्तमञ्जनको प्रयोग  गरिने भएकाले सम्भव भए सम्म ३६५ नभए पनि केही संख्यामा अपमार्गको प्रयोग गर्ने प्रचलन बढेको छ  । 

निर्जलाभन्दा आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै फलफूल र पानीको सेवन गर्दै व्रत लिने परम्परा विकसित भएको देखिन्छ । अरू दिन स्मरण गर्न नसके पनि नारीले पञ्चमीका दिन ज्ञानका प्रतिमूर्ति सप्तर्षिहरूको पूजा गरेर ज्ञानको सम्मान गर्ने परम्परा आज विकसित भएर प्रत्येक दिन अध्ययन, अध्यापन एवं ज्ञान आर्जनमा समर्पित भएका छन् । एकैसाथ धेरै किसिमका खानेकुराहरू खाँदा पचाउन  नसकिने र स्वास्थ्य बिग्रिने डरले वैज्ञानिक ढङ्गबाट उपयोगी खानेकुरा खाएर बिदाका समय हेरेर प्रायः शनिबारको उपयोग गर्दै दर खाने प्रचलनको विकास भएको  छ । 

त्यसैले तिज मनाउने तरिका वा समय लामो देखिएता पनि आफन्तको बीचमा भेटघाट र मनोरञ्जन आदानप्रदान गराउनुका साथै कार्य व्यस्तता र मानसिक तनावले ग्रस्त भएको मानिसलाई मन प्रश्न गराई चिन्तामुक्त गराउन महत्त्वपूर्ण देखिन्छ ।  त्यस कारण केही समय अगाडिदेखि नै होटेलहरूमा दर खाने प्रचलनलाई परिवारको विस्तृतीकरण आर्थिक सम्पन्नता, नारीहरूको कार्य व्यस्तता सँगसँगै सांस्कृतिक सचेतना र आत्मीय भाव अभिवृद्धि गर्ने  अभिलाषा आदि नै तिज मनाउने प्रक्रियागत  भिन्नता आउनुको मुख्य कारण मान्न सकिन्छ । 

अन्त्यमा, मेरी आमाको समयका मनाइने तिजमा सामाजिक एवं व्यावहारिक कठिनाइहरू धेरै थिए भने  आज मैले मनाउँदै गरेको तिजमा विज्ञानले गरेको विकास र परिवर्तित सामाजिक सोचले  जीवनशैलीलाई सरल र  सुविधामुखी बनाइ दिएको छ । आधुनिकता सँगसँगै सांस्कृतिक एवं  परम्परित लोक भाका र पोषण युक्त खानेकुरा भन्दा सामाजिक सद्भाव भड्किने, उच्छृङ्खल नाचगान, गहनाको प्रदर्शन, मदयुक्तखानपिनको प्रयोग भएको पनि देखिन्छ । यस्ता संस्कृतिका नामका  फैलँदै गएका विकृति जन्य गतिविधिहरूलाई प्रश्रय दिनु भन्दा  त्यस्ता कार्यलाई निरुत्साहित गरेर सकारात्मक पक्षलाई समर्थन गर्न सकेमा  बहुभाषी, बहुजाती र बहुसांस्कृतिक हाम्रो देशमा अन्य धर्मावलम्वीहरूले पनि यसको अनुसरण गर्नेछन् भने भावी सन्ततिलाई  सही संस्कार हस्तान्तरण गरिनेछ । धर्म र पर्वको  सही प्रयोग बाट नै संस्कार र संस्कृतिको वास्तविक  सम्मान, संरक्षण र संवर्द्धन हुन सक्दछ ।

वाल्मीकि क्याम्पसकी उपप्राध्यापक तथा पञ्चाङ्ग निर्णायक समिति सदस्य नेपाल