close

डाक्टर पढाउने पालिकाको सपना : लाखौं बजेट छ, छैनन् पढ्ने विद्यार्थी

बर्सेनि २० लाख विनियोजन गर्दासमेत परेन आवेदन

डाक्टर पढाउने पालिकाको सपना : लाखौं बजेट छ, छैनन् पढ्ने विद्यार्थी

बर्सेनि २० लाख विनियोजन गर्दासमेत परेन आवेदन

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– थुलुङ दूधकोशी गाउँपालिकामा चिकित्सक बस्नै रुचाउँदैनन् । गाउँपालिकामा अस्पताल सञ्चालन भए पनि डाक्टर बस्न नमान्ने समस्याको मारमा स्थानीय परेका छन् ।

सो समस्या समाधानका लागि गाउँपालिका अध्यक्ष असिम राईले दुई वर्ष अघि आफ्नो कार्यकालको सेवा र सुविधाबाट स्थानीय बासिन्दालाई डाक्टर पढाउने निधो गरे । उनको निर्णय अनुरुप गाउँपालिकाले डाक्टर पढ्ने चाहने व्यक्तिको खोजी गर्न थाल्यो ।  र, डाक्टर पढ्न चाहनेको लागि आवेदन माग गर्‍यो । 

गाउँपालिकामा आवेदन दर्ता भयो तर आवेदक मेडिकल काउन्सिलको परीक्षामा अनुत्तीर्ण भए । गाउँपालिका अध्यक्ष राईका अनुसार पालिकाले छनौट गरी पठाएका विद्यार्थी काउन्सिलमा अनुत्तीर्ण भएपछि कसैले डाक्टर पढ्न पाएका छैनन् । 

आफूले निर्णय गरे पनि विद्यार्थीले नाम निकाल्न नसकेकोले कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ । तर चालु आवमा नाम निकाल्न सक्ने आशा रहेको उनले पालिकाखबरलाई बताए । नाम निकालेमा डाक्टर बन्नको लागि आवश्यक खर्च आफ्नो सेवा सुविधाबाट उपलब्ध गराउने उनले सुनाए । 

उनले भने, ‘हाम्रो पालिकाको अस्पतालमा डाक्टर बस्दैनन् । स्थानीय भएमा सहज हुन्छ भनेर मेरो सेवा र सुविधाबाट डाक्टर पढाउने निर्णय गरेँ । तर दुई वर्षसम्म कसैले नाम निकाल्न सकेका छैनन् ।’ पालिकाभित्रको स्थानीय बासिन्दा डाक्टर भएमा पालिकाभित्र स्वास्थ्य क्षेत्रमा केही सुधार हुने उनको विश्वास छ । 

यता, ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक जना विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरे । निर्णय गरेसँगै गत आर्थिक वर्षमा गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गर्‍यो तर कसैको पनि आवेदन परेन । 

गाउँपालिकाका स्वास्थ्य संयोजक फुर्वा शेर्पाका अनुसार डाक्टर पढाउनका लागि पालिकाले चालु आवमा पनि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर हालसम्म पनि कसैले पनि डाक्टर बन्ने रुचीसहित पालिकामा सम्पर्क गरेका छैनन् । 
गाउँपालिकामा सञ्चालित स्वास्थ्य संस्थामा डाक्टर अभाव भएपछि ‘हाम्रै अस्पताल हाम्रो डाक्टर’ भन्ने नारा बनाएर सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई सुनाए । 

चालु आवमा डाक्टर पढ्ने व्यक्तिको खोजी गरिने उनले सुनाए । ‘यस वर्ष विज्ञापन निकालेर डाक्टर पढ्ने मान्छे खोज्ने छौँ,’ उनले भने, ‘गाउँपालिकाले पालिकाभित्रका स्थानीय बासिन्दालाई मात्रै नभई जिल्ला भरका जोसुकै व्यक्तिलाई पनि डाक्टर पढाउने योजना बनाएका छौँ ।’

गाउँपालिकाको लगानीमा डाक्टर भएमा पालिकाभित्र बसेर पाँच वर्ष सेवा गर्नुपर्ने उनले सुनाए । सेवा गरेवापत गाउँपालिकाले पारिश्रमिकको व्यवस्था समेत गर्ने उनले पालिकाखबरलाई बताए । 

इच्छुक व्यक्ति मेडिकल काउन्सिलबाट छनौट भएमा आवश्यक रकम सबै गाउँपालिकाले नै व्यहोर्ने उनको भनाइ छ  । तर प्रत्येक वर्ष बजेट विनियोजन गरे पनि कसैको पनि आवेदन नपरेकोमा उनले दुखेसो पोखे । 

उनका अनुसार गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन वटा सामुदायिक स्वास्थ्य केन्द्र  र तीन वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । तर गाउँपालिकाभित्र पाँच जना मात्रै स्थायी कर्मचारी छन् । 

गाउँपालिकामा संघीय सरकारले स्वास्थ्यको लागि २८ जना दरबन्दी कर्मचारी दिए पनि ५ जना मात्रै कर्मचारी भएको उनले सुनाए । थोरै कर्मचारीबाट सेवा प्रभावित भएपछि गाउँपालिकाले २८ जना करार कर्मचारी भर्ना गरेको उनको भनाइ छ ।

गाउँपालिका विकट भएकाले कर्मचारी बस्न नमान्ने उनले सुनाए । ‘हाम्रो पालिका दुर्गम क्षेत्रमा छ । डाक्टर आउन नै मान्दैनन्,’ उनले भने, ‘आए पनि इन्टरनेट, बाटो तथा विभिन्न समस्याले बस्नै मान्दैनन् ।’ सोही समस्याको समाधानको लागि गाउँपालिका आफैँले डाक्टर उत्पादन गर्न खोजेको उनको भनाइ छ । 

गाउँपालिकामा डाक्टर नभएकाले २/३ हजार रुपैयाँ यातायात खर्च गरेर अन्य पालिकामा उपचारको लागि स्थानीय जान बाध्य भएको उनले सुनाए । सो रकम र समयको बचत गर्नको लागि आफैँले डाक्टर उत्पादन गर्न खोजेको उनले सुनाए ।