close

अध्यक्षनै पत्याउँदैनन् आफ्नो गाउँपालिकाको जनसंख्या

अध्यक्षनै पत्याउँदैनन् आफ्नो गाउँपालिकाको जनसंख्या

Trulli
ADVERTISEMENT

मनाङ– राष्ट्रिय तथ्यांक कार्यालयले प्रत्येक दश वर्षमा जनगणना गरी जनसंख्या सार्वजनिक गर्छ । कार्यालयको सोही तथ्यांकका आधारमा हरेक क्षेत्रका सम्भावना, विकास र समस्याका समाधानको योजना बनाउने गरिन्छ ।

जनगणनाका लागि तथ्यांक कार्यालयले जनचेतना, प्रचारप्रसार र तथ्यांक  संकलनजस्ता कार्यमा स्थानीय तहसँग पनि सहकार्य तथा समन्वय गर्छ । त्यसैले स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहन्छ । तर, स्थानीय सरकार प्रमुख नै कार्यालयकाे  जनसांख्यिक तथ्यांकमा विश्वास गर्दैनन् भन्दा पत्यार नलाग्न सक्छ । 

यो सत्य हो, मनाङको नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक पत्याउँदैनन् । जनगणनाको तथ्यांकको फाइनल प्रतिवेदन अनुसार नार्पाभूमीमा १२६ परिवारका ३९६ जना बसोबास गर्छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार समग्र नेपालको जनघनत्व १९८ जना एक वर्ग किलोमिटर छ । जसअनुसार एक वर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना मानिसहरु बस्छन् । हिमाली क्षेत्र एक वर्ग किलोमिटर क्षेत्रफलमा ३४ जना मानिस बसोबास गर्ने जनगणनाले देखाएको छ । तर, ८३७ दशमलव ५४ वर्ग किलोमिटर क्षेत्रफल रहेको नार्पा भूमीमा ३९६ जना मात्र बसोबास गर्छन् । 

जनसङख्या कम रहे पनि राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा एकीन विवरण नआएको गाउँपालिकाका अध्यक्ष लामाको दाबी छ । जनगणनामा उल्लेखित तथ्यांकभन्दा धेरै मानिस स्थायी रुपमै पालिकाभित्र बसोबास गर्ने उनले पालिकाखबरसँग बताए । 

राष्ट्रिय जनगणनाको समयमा घरघर पुगेर सर्वेक्षण नभएकाले पालिकाबासीको सङ्ख्या कम भएको उनले सुनाए । उनले भने ‘त्यो समय कात्तिक/मंसिरमा जनगणना भएको थियो । चिसोको कारणले सबैकाे घरमा तथ्यांक लिन गएकै छैनन् ।’ पालिकाभित्र ४३० जनाभन्दा धेरै स्थायी रुपमा बसोबास गरेको उनले  दावी गरे । केही पालिकावासी शिक्षा र रोजगारीको शिलशिलामा राजधानीदेखि विदेशसम्म रहेको उनले सुनाए । 

राष्ट्रिय तथ्यांक कार्यालयमा भने जनगणनाको क्रममा कमी/कमजोरी नभएको दावी गर्दै आएकाे छ। तथ्यांक विभागका सूचना अधिकारी मनोहर घिमिरे  पालिकाखबरसँग भन्छन्, ‘जनगणनामा कुनै समस्या भएको छैन ।’ 

एक वडामा एक वस्ती
नार्पा भूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार थोरै जनसङख्या रहेको पालिकामा झुण्ड परेर बस्ती छन् । पाँच वटा वडा रहेको गाउँपालिकामा एउटा वडामा एउटा बस्ती छ । वडा नं १ को नार गाउँ र ५ को फू गाउँमा पुरानो बस्ती रहेको उनले बताए  । उनले भने ‘ वडा नं २, ३ र ४ मा पछि बस्ती बसालेको हो ।’ करिब १५ वर्ष पहिले मात्र नयाँ बस्ति बसालिएको उनले सुनाए । 

गाउँपालिकामा जाडो महिना लागेपछि स्थानीयहरु हिउँद छल्न पालिका छाड्ने गरेको उनले  जानकारी दिए । ‘यहाँ पशुपालन गरेका कृषकहरु मात्र पशुको रेखदेख गर्न बस्छन् । बाँकी काठमाडौं, पोखरा र बेँशीतिर झर्छन् ।’ जाडोयाममा ७० प्रतिशतले पालिका छाड्ने र ३० प्रतिशत मात्र पालिकाभित्र बस्ने गरेको उनले पालिकाखबरलाई सुनाए ।  

पालिका केन्द्र नै सडकबाट टाढा

वडा नं १ र ५ मा गरेर गाउँपालिकामा दुई वटा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाभित्र कक्षा ७ सम्म पढाइ हुने उनले बताए । वडा नं ५ मा ८ जनाभन्दा बढी र वडा नं १ मा १५ जना भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेको उनी बताउँछन् । 

गाउँपालिकाका स्वास्थ्य चौकी र औषधी भएपनि स्वास्थ्यकर्मीको अभाव छ । ‘स्वास्थ्य चौकीका कर्मचारीहरु नै बस्नुहुन्न, तीनवटा वडामा स्वास्थ्य चौकी सञ्चालनमा रहेको र बाँकी दुई वटा वडामा आगामी आर्थिक वर्षमा सञ्चालनमा आउने उनले जानकारी दिए । 

गाउँपालिकाको केन्द्रलाई सडक सञ्जालले नछोएकाले साेकाे निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेको उनले बताए । पालिकाभित्र विद्युतको केन्द्रिय प्रशारण लाइन नपुगेकोले गाउँमा बत्ती ल्याउन पहल गर्ने उनी सुनाउँछन् ।  यस्तै शिक्षा, स्वास्थ्यको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । 

पालिकाभित्र जनसङ्ख्या नै कम रहेकाले सेवाग्राही पनि कम आउने गरेको उनले बताए । उनले भने, ‘हाम्रो नार्पाभूमी गाउँपालिकामा मात्र होइन मनाङ जिल्लामा नै कम जनसङ्ख्या कम छ । ’ नार्पा भूमीका स्थानीयवासीको कृषि, पशुपालन, पर्यटन र जडिबुटी संकलन आम्दानीको मुख्य स्रोत हो । यहाँको जनसङ्ख्या कम रहेकाले गाउँपालिकाको पनि आम्दानी कम हुने गरेको पालिका अध्यक्ष लामाले बताए । उनको अनुसार  गाउँपालिकाको वार्षिक रुपमा ७ लाखसम्म आन्तरिक आम्दानी हुन्छ ।  

‘गाउँपालिकाको पर्यटनको शुल्क इक्याप संस्थाले उठाउँछ । गाउँपालिकाले उठाउने भनेको सम्पत्ती कर, सरकारी कर, होटल व्यवसायिको कर वार्षिक रुपमा उठाउने हो ।’ अन्नपूर्ण कन्जर्भेसन एरिया प्राेजेक्टले पर्यटन शुल्क उठाउने गरेको उनले बताए । उनले थपे, ‘यो हाम्रो मात्र होइन । गण्डकी प्रदेशका धेरै स्थानीय तहको समस्या हो । प्राय सबै स्थानीय तहको पर्यटन शुल्क इक्यापले नै उठाउँछ,’

दलभन्दा पनि व्यक्तिलाई हेरेर भोट
पालिकाभित्र राजनीतिक दल भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको नार्पा भूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताए । अघिल्लो चुनावमा सर्वसहमतीमा चुनाव नभइ निर्विरोध रुपमा अध्यक्ष पद दिइएको थियो । यस निर्वाचनमा भने आफू एमालेबाट अध्यक्षको पदमा उठेको र बहुमत पाएर विजयी भएको उनले बताए ।